कला-साहित्य

‘नेपाल नेसन्स अवार्ड–२०२५’ इलामका गायक रघुन गुरुङलाई

आइतबार पौष २०, २०८२/ Sunday 01-04-26

इलाम– पहिलो संस्करणको नेपाल नेसन्स अवार्ड–२०२५ (गायन) इलामका गायक रघुन गुरुङले हात पारेका छन् । 

काठमाडौं माछापोखरीस्थित बसन्तनगरमा रहेको अनुपम पार्टी भेन्युमा सम्पन्न समारोहमा नेपाली चलचित्र गायनतर्फ पुरुषतर्फ गुरुङ उत्कृष्ट भएका हुन् । इलाम फिक्कलका गुरुङले नेपाली चलचित्रको चर्चित गीत ‘काली काली प्यारी दिलवाली’मार्फत् निर्णायक तथा दर्शकको मन जित्न सफल भए । उक्त गीतको रचना पनि इलामकै बुद्धवीर लामा र संगीत तथा एरेन्ज इलामकै बलराम समालले गरेका हुन् । 

अवार्ड ग्रहण गर्दै गायक गुरुङले नेपाली गीत–संगीतको प्रवद्र्धनमा यस्ता सम्मानले थप ऊर्जा र जिम्मेवारी बढाएको बताए । उनले यो सम्मान सम्पूर्ण सर्जक, संगीतकर्मी र दर्शकप्रति समर्पित रहेको प्रतिक्रिया दिए । 

मनखुसी फाउन्डेसन बागमती प्रदेश र करण दृष्टि फाउन्डेसनको संयुक्त आयोजना तथा विभिन्न सरकारी निकायहरूको समन्वयमा सम्पन्न कार्यक्रममा एभेन्टोज डटकमले भोटिङ पार्टनरको भूमिका निर्वाह गरेको थियो । विशेष समन्वयको जिम्मेवारी मनखुसी फाउन्डेसन केन्द्रीय कार्यालयले सम्हालेको आयोजकले जानकारी दिएका छन् ।

राष्ट्रियस्तरमा विभिन्न क्षेत्रका प्रतिभालाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको नेपाल नेसन्स अवार्ड २०२५ ले कला, संस्कृति र सिर्जनशीलताको सम्मानमा महत्त्वपूर्ण योगदान गरेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया