इलाम- इलामको जौबारीमा अति दुर्लभ मानिएको चरो चाकासूचक (येल्लो रम्प्ड हन्नीगाइड) भेटिएको छ । चरा अध्ययनकर्ता तथा वाइल्डलाइफ फोटोग्राफर देवेन खरेलले माइजोगमाई र सन्दकपुर गाउँपालिकाको सीमा चोयाटार सामुदायिक वन क्षेत्रमा यो चराको तस्बिर खिचेका हुन् ।
खरेलले यो क्षेत्रमा ७४ प्रकारका चरा फेला पारेकामा यो चरालाई ‘अति महत्त्वपूर्ण उपलिब्ध’ भनेका छन् । ‘यो दुर्लभमात्र होइन, अति दुर्लभ र महत्त्वपूर्ण चरो हो,’ खरेलले भने, ‘अरू-अरू नामका चराहरू धेरै प्रजतिका हुन्छन् तर यो चाकासूचक चाहिँ यही एउटा प्रजातिको मात्र हुन्छ ।’
खरेलले यसको वैज्ञानिक नाम ‘इन्डिकेटर सन्थोनोटस’ भएको बताए । भिरमौरीले भिरमा चाका लगाएर मह बनाइ खाइसकेर छाडेपछि त्यही चाका खाने यसको विशेषता भएको उनको भनाइ छ । ‘पहिला–पहिला यसले भिरमौरीको पहिचान गर्ने भएकाले मान्छेले यो जता उड्यो, त्यसै पछ्याउने गर्थे रे,’ उनले भने, ‘यो कोइलीभन्दा अति चतुर चरो हो ।’
यसपटकको जंगल भ्रमणमा माइजोगमाईको थुम्केदेखि जौबारीसम्म ७४ प्रकारका चरा भेटिँदा आफ्ना लागि ५ नयाँ चरा भेटेकामा यो सबैभन्दा महत्त्वपूर्ण भएको खरेलको भनाइ छ । करिब १५ सेन्टिमिटर लामो हुने यो चराको जोडीकै तस्बिर आफूले खिचेको खरेल बताउँछन् । नेपालको पन्छीसूचक लालसूचीमा यो चरालाई ‘अत्यन्त कम पाइने’मा सूचीकृत गरिएको छ ।
यो पहाडी र हिमाली वनको १ हजार ५ सयदेखि ३ हजार मिटर उचाईमा पाइने चरो हो । खरेलले यो एउटा चराको अभिलेखमात्र नभई वन, मौरी र अन्य जैविक प्रणालीबीचको सम्बन्धको जैविक सूचक पनि भएको बताए । ‘कुनै पनि ठाउँमा नयाँ वा दुर्लभ चरा भेटिनु पर्यटन प्रवर्धनका लागि पनि उत्तिकै सहयोगी बन्नसक्छ,’ उनले भने, ‘माइजोगमाई र सन्दकपुर त्यसैपनि पर्यटकीय क्षेत्र हुन्, त्यसमा चरा पर्यटन अर्काे महत्त्वपूर्ण गन्तव्य बन्नसक्छ ।’
फोटोग्राफर खरेलले केही वर्षअघि इलामकै सूर्याेदय नगरपालिका १, सिमढापमा करिब १ सय ७० वर्षयता नेपालमा नदेखिएको हङ्रायो (रुफुस नेक्ड हर्नबिल) फेला पारेका थिए ।
तपाईको प्रतिक्रिया