अर्थ

एउटै गाउँमा भित्रन्छ अलैंचीबाट करोड रुपैयाँ

शुक्रबार भदौ ५, २०८३/ Friday 08-21-26

इलाम– वर्षैभर चर्चामा रहेको अलैंचीको नयाँ सिजन शुरु भएको छ । गएको आर्थिक वर्षमा विदेशी मुद्रा आर्जनमा अब्बल बनेको अलैंची यो वर्ष पनि टिप्न थालिएको हो । इलामको तल्लो क्षेत्रका किसानहरुले जिर्मले जातको अलैंची टिप्न शुरु गरेका हुन् । तातो तथा पारिलो क्षेत्रमा लगाइने यो अलैंची टिप्न धमाधम थालिएको रोङ गाउँपालिकाका किसानले बताएका छन् ।

रोङ गाउँपालिकाका सबै जसो वडाहरुमा किसानले जिर्मले जातको अलैंची लगाएका छन् । पालिकाका सबै जसो वडामा अलैंची टिप्न शुरु भएको रोङ गाउँपालिकाका गूरु किसान समेत रहेका वडा–३ सिम्लेका किसान राम आचार्यले बताए । गत वर्ष १६ मन अलैंची बिक्री गरेका  आचार्यले यो वर्ष सात मन नयाँ तयारी अलैंची बिक्री पनि गरिसकेका छन् ।  
५० रोपनी जमिनमा अलैंची लगाएका आचार्यले  यो वर्ष भने २५ मन जति अलैंची उत्पादन हुने अनुमान रहेको बताए । ‘सिजनको शुरुमै अहिले मुल्य राम्रो छ । अरु पनि किसानहरुले बिक्री गर्न थाल्नुभएको छ । अब २२ दिनमा यहाँको अलैंची प्रायः टिपेर सुकाइ सकिन्छ ।’ आचार्यले भने ‘मैले चाँहि केही दिन अघिमात्र प्रतिमन एक लाख रुपियाँका दरले सात मन बिक्री गरें । अरु किसानले त त्यो भन्दा बढीमा बिक्री गर्नुभएको छ ।’ आचार्यले यो वर्ष छ लाख रुपियाँको अलैंचीको विरुवा समेत बिक्री गरेको बताए । ‘चीनमा छोराले एमबीबीएस पढ्दै छ । उस्लाई खर्च पठाउन पनि यो पटक चाँडै अलैंची बिक्री गर्नुप¥यो । तर, त्यसलाई पनि कम मुल्य भनेत होइन ।’ आचार्यले भने । 

रोङ–३ कै किसान चन्द्रमणि राईले यो वर्ष एक लाख दुुई हजार रुपियाँ प्रतिमनका दरले अलैंची  बिक्री गरेका छन् ।  यस्तै सोही ठाउँका खगराज आचार्यले पनि प्रतिमन एक लाख दुुई हजारका दरले अलैंची बिक्री गरेको स्थानीय झलनाथ कट्टेलले जानकारी दिए ।  ‘हाम्रो चाँहि टिप्न शुरु  गर्दैछौं । छरछिमेकमा धेरैले बिक्रीनै गरिसक्नुभयो ।’ कट्टेलले भने ‘यो सिम्ले गाउँमा करिब १७–१८ घर छौं  । यहाँबाट वार्षिक करिब एक सय मन अलैंची निकासी हुन्छ ।’

रोङ सहित जिल्लाका अन्य पालिकाहरु माइजोगमाई, इलाम नगरपालिकालगायत तातो तथा खोला किनार क्षेत्रमा जिर्मले जातको अलैंची टिप्न थालिएको छ । अन्य जात भार्लाङ, राम साही, गोलसाही, सेरेना, चिवेलगायतका जातका अलैंची भने अझै केही पछि देखि मात्र टिपाइ शुरु हुने किसानहरुले बताएका छन् । 


गतवर्ष प्रतिमन एक लाख छ हजार रुपियाँ सम्म खरिद बिक्री भएको अलैंची यो वर्ष भने सिजनको शुरुमा ९६ हजार देखि एक लाख रुपियाँ सम्म रहेको अलैंची व्यवसायी संघका अध्यक्ष दिपक नेपालले बताए ।  ‘उच्च गुणस्तरको मुल्य राम्रो छ, चलनचल्तीको प्रतिमन ९६ हजारले चलिरहेको छ ।’ नेपालले भने  ‘यो वर्ष अलैंचीको मुल्य ठ्याक्कै यति भन्ने अनुमान गर्न सकिन्न । गतवर्षकै हाराहारीमा चल्छ होला ।’ 

यता इलामका बजारमा पनि किसानले नयाँ अलैंची निकाल्न थालेका छन् । ‘रोङका किसानले प्रतिमन एकलाख दुुई हजार सम्ममा बिक्री गर्नु ठिकै हो । विर्तामोड भन्दा रोङ नजिक र जिर्मले जातको अलैंची ठूलो दाना र उच्च क्वालीटीको हुन्छ । त्यस्तो अलैंचीको एक–दुई हजार तलमाथि हुनसक्छ ।’ इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौड्यालले भने ‘तर, अहिले बजारमा एक लाख दश हजार सम्मको हल्ला छ । त्यो चाँहि हल्ला मात्र हो । यदि कसैले  किन्छ भने त स्टकमा रहेको अलैची हामीनै बिक्री गर्छौं ।’ पौड्यालले भने । 


गएको ०८२/०८३ वर्षमा अहिले सम्मकै उच्च मुल्य अर्थात १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार मुल्य बराबरको अलैंची निर्यात भएको थियो । गएको वर्ष झापाको काँकडभिट्टा नाकाबाट ६३ लाख ८५ हजार ८७० किलो अलैंची निर्यात भएको भन्सार कार्यालयको तथ्याकंमा उल्लेख छ । विषेश गरि इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, संखुवासभा, भोजपुर, धनकुटालगायतका कोशी पहाडमा जिल्लाहरुमा अलैंची सबैभन्दा बढी उत्पादन हुने गरेको अलैंची विकास केन्द्रले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया