इलाम- इलाम उद्योग वाणिज्य संघले आइतबार नयाँ नेतृत्व चुन्दैछ । संघको १८औं साधारणभा तथा १०औं जिल्ला अधिवेशन जिल्ला समन्वय समिति सभाहलमा चलिरहेको छ ।
हलमा साधारणसभा चलिरहँदा व्यवसायी भने नयाँ नेतृत्वको चर्चा गरिरहेका छन् । अब आउने नेतृत्व कस्तो रहला, अध्यक्ष, उपाध्यक्षहरू, महासचिवलगायत १६ सदस्यीय समितिमा को-को रहलान् भन्ने चर्चा व्यवसायीबीच भइरहेको छ।
संघका वर्तमान अध्यक्ष चेतनाथ पौडेल (कृष्ण) नै दोस्रो कार्यकालका लागि अध्यक्ष बन्ने करिब टुंगो लागेको छ । व्यवसायीहरूका अनुसार केही दिनअघि अध्यक्षका प्रत्यासीहरूबीच भएको छलफलमा पौडेललाई नै निरन्तरता दिएर जाने सहमति भएको छ । यद्यपि, निर्वाचन प्रक्रिया सुरु भइसकेको छैन । उम्मेदवारी मनोनयन दर्ता हुन बाँकी नै छ तर अहिलेसम्म पौडेलबाहेक अध्यक्षका अन्य प्रत्यासी देखिएका छैनन् ।
वरिष्ठ उपाध्यक्ष दिपेश श्रेष्ठ नै नयाँ कार्य समितिमा निरन्तर रहने चर्चा छ भने वाणिज्य उपाध्यक्ष (एक पद)मा श्रीबहादुर विष्ट र दिपेश खत्रीको नाम चर्चामा छ । उद्योग उपाध्यक्षमा प्रेम सापकोटाको नाममात्रै चर्चामा रहँदा एक महिला उपाध्यक्षमा भने दिव्या भट्टराई र भगवती पराजुली कोइराला (मञ्जु)को नाम चर्चामा छ ।
महासचिवमा वर्तमान महासचिव हेमन्त गौतम (अत्री) र वर्तमान कोषाध्यक्ष सन्तोष भक्तराजको नाम चर्चामा छ । सचिवमा सुमन दास नै दोहोरिने चर्चा छ भने कोषाध्यक्षमा अहिलेसम्म गणेश सुवेदीको नाम आएको छ । १६ सदस्यीय समितिमा ५ खुला र ३ महिला सदस्य रहनेछन् ।
साधारणसभा तथा अधिवेशनको इलाम नगरपालिका प्रमुख केदार थापाले उद्घाटन गरेका छन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दीपक नेपाल, झापा र पाँचथरस्थित उद्योग वाणिज्य संघका प्रतिनिधि, जिल्लास्थित विभिन्न संघ–संस्थाका प्रतिनिधि र व्यवसायी सहभागी छन् । उद्घाटनसत्र अवसरमा संघले उद्योग–व्यवसाय क्षेत्रमा योगदान गर्ने ८ जनालाई सम्मान गरेको छ ।
तपाईको प्रतिक्रिया