समाज

स्थानीय मुहान संरक्षण गर्दै वडा कार्यालय

बिहीबार भदौ ११, २०८३/ Thursday 08-27-26

इलाम सदरमुकामको नजिकै भएपनि सधैं खानेपानीको हाहाकार हुने बरबोटे क्षेत्रमा स्थानीय मुहानको संरक्षण शुरु गरिएको छ । इलाम नगरपालिका–५ बरबोटे क्षेत्रमा अहिले रहेका साना तथा स्थानीय मुहानहरुको संरक्षण गरेर स्थानीय उपभोक्तालाई खानेपानी सहज बनाउन हुन थालेको छ । 

इलाम सदरमुकामका लागि ल्याइएको सहरी खानेपानी आयोजना र बरबोटेकै लागि ल्याइएको मान्द्रेनी खानेपानी आयोजनाको समेत पानी नपुगेका स्थानहरुमा स्थानीय मुहान संरक्षण गरिएको हो । 
यो वडामा अहिले १२ वटा स्थानीय मुहानलाई संरक्षण गरेर पानी संकलन गरिएको छ । २० हजार देखि ५० हजार लिटर सम्मका ‘रिजर्ब’ ट्याकीं निर्माण गरेर उपभोक्तालाई पानी  पु¥याइएको इलाम नगरपालिका–५ का वडाध्यक्ष काजीबहादुर श्रेष्ठले बताए  । ‘हामीले ३५० धारा निर्माण गरेका छौं । अहिले घर–घरमा धारा पुुगेको छ । करिब ७–८ सय जनसंख्यालाई यो पानीले पुगेको छ ।’ वडाध्यक्ष श्रेष्ठले भने ‘७५ एम–एमको पाइप डेढ किलोमिटर सम्म मेन लाइनबाट बिच्छ्याइएको छ । धारा सम्म जान दश मिटर थप पाइप दिइएको छ । बाँकी होल खन्ने, धारा निर्माण गर्न उपभोक्ताको लागत साझेदारीमा काम भएको छ ।’ 

उपभोक्ताहरुलाई धारा निर्माणका लागि पनि एक बोरा सिमेन्ट र प्रति धारा एक हजार रुपियाँका दरले वडाले उपलब्ध गराएको छ भने धारा निर्माण गर्न बालुुवा र गिटीको जिम्मा भने उपभोक्तालाई दिइएको थियो । उपभोक्ता सँगको शर्त अनुसार धारा निर्माण सम्मको सबै काम सम्पन्न भएर अहिले धारामा पानी खस्न थालेको वडा कार्यालयले जनाएको छ । प्रदेश सरकार  र संघीय सरकारको सहयोगमा स्थानीय मुहान संरक्षणको काम गरिएको हो । 

‘यहाँ करिब  पाँचवटा जति खानेपानीका ठूला  आयोजना छन् । तर,  ती आयोजनाले नपुुगेको स्थानमा खोल्सा, कुवाका पानीका मुहान र स्रोत संरक्षण गर्दा हुुने रहेछ भन्ने हामीले यहाँ नमुना बनाएका छौं ।’ वडाध्यक्ष श्रेष्ठले भने ‘अहिले ठूला आयोजनाको भर पर्दा हप्तौं दिन सम्म उपभोक्ताले पानी खान पाएका छैनन् । पानी नपाउने समस्या स्थानीय मुहान संरक्षणले हटाउने रहेछ भन्ने ज्ञान हामीलाई भएको छ ।’ 

स्थानीय मुहानलाई संरक्षण गरिए पछि हिउँद–वर्षेै खानेपानीको पिरलो हुने उपभोक्तालाई सहज भएको स्थानीय उपभोक्ताहरु बताउँछन् ।    
 

तपाईको प्रतिक्रिया