नयाँबजार (इलाम)- माइजोगमाई गाउँपालिका खेलकुद विकास परिषद्, इलामको आयोजना तथा गाउँपालिकाको संरक्षणमा बालागुरु खेल मैदानमा जारी वडास्तरीय पुरुष लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि माइजोगमाई-१ ले उचालेको छ ।
आज भएको उपाधि भिडन्तमा माइजोगमाई-५ लाई १-० गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन वडा १ पुनः च्याम्पियन बनेको हो । च्याम्पियन बन्न दोस्रो हाफको १२ औँ मिनेटमा लवकुश राईले गरेको गोल नै पर्याप्त बन्यो ।
च्याम्पियन बनेसँगै माइजोगमाई-१ ले नगद ६० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता माइजोगमाई-५ ले नगद ४० हजार रुपैयाँमा चित्त बुझाउनुपरेको आयोजक समिति अध्यक्ष देवेन्द्र पौडेलले जानकारी दिए ।
प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडी अगम लिम्बू, ह्याट्रिकसहित ७ गोल गरेर उच्च गोलकर्ता बनेका लोकेश निरौला, उत्कृष्ट गोलरक्षक मनोज गुरुङ, उत्कृष्ट डिफेन्डर उपविजेता टोलीका योगेन राई, उत्कृष्ट मिडफिल्डर सन्जिहाङ लिम्बू र उदयमान खेलाडी माइजोगमाई-४ का विजय लिम्बू घोषित हुँदै पुरस्कृत भए ।
यसअघि भएको पहिलो सेमिफाइनलमा माइजोगमाई-४ लाई २-० ले पराजित गर्दै वडा नं. १ र दोस्रो सेमिफाइनलमा माइजोगमाई-२ लाई शून्यका विरुद्ध ३ गोल गर्दै वडा नं. ५ ले फाइनलमा स्थान बनाएका थिए ।
स्थानीय क्षेत्रमा खेलाडी उत्पादन तथा प्रतिभाको खोजी गर्ने उद्देश्यका साथ माइजोगमाईले इलाम जिल्लामै पहिलोपटक वडास्तरीय पुरुष लिग तथा नकआउट प्रतियोगिता आयोजना गरेको समिति उपाध्यक्ष सुनील लिङ्दमले जानकारी दिए ।
प्रत्येक वडाको टोलीलाई टिम व्यवस्थापनका लागि नगद ३० हजार रुपैयाँ प्रदान गरिएको कोषाध्यक्ष रविन थेबेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया