खेलकुद

राँके स्मृति फुटबल उपाधि मिरिक र छाँगेलाई

शनिबार श्रावण २, २०८३/ Saturday 07-18-26

सन्दकपुर, (इलाम)- इलामको सन्दकपुर गाउँपालिका ४, माबुमा सञ्चालित ऐतिहासिक तथा प्रतिष्ठित ‘राँके स्मृति नकआउट फुटबल प्रतियोगिता’को उपाधि खुलातर्फ मिरिक एफसी र भेट्रान्सतर्फ छाँगेले जितेका छन् ।

सन्दकपुर गाउँपालिकाभित्र आयोजना हुने करिब १४ फुटबल प्रतियोगितामध्ये यो प्रतियोगिता सबैभन्दा पुरानो र प्रतिष्ठित मानिन्छ । २०२८ सालमा सुरु ऐतिहासिक राँके मेलाको अवसर पारेर २०३२ सालयता यो प्रतियोगिता निरन्तर आयोजना भइरहेको छ । 

यो वर्ष प्रतिकूल मौसम र भारी वर्षाका बाबजुद पनि स्थानीय खेलप्रेमी दर्शक छाता ओढेरै मैदानमा खेल हेर्न र खेलाडीको हौसला बढाउन उपस्थित भए । 

विगत वर्षहरूमा यो प्रतियोगिता सन्दकपुर खेल संघको मुख्य आयोजनामा हुँदैआएको थियो । तर, यो वर्ष ‘केही विविध र प्राविधिक कारण’ले संघले खेललाई निरन्तरता दिन नसकेपछि ‘बौद्धधाम टोल विकास संस्थाले अग्रसरता देखाउँदै असार २६ देखि प्रतियोगिता सञ्चालन गरेको थियो ।

टोल विकास संस्था अध्यक्ष नन्दकुमार थापामगरका अनुसार यो वर्ष संकटका बीच प्रतियोगितालाई बचाउने काम गरिएपनि आगामी संस्करण भने पुरानै संरचनामा फर्किनेछन् । आगामी वर्षदेखि प्रतियोगिताको आयोजना र व्यवस्थापन पुनः सन्दकपुर खेल संघले नै गर्ने निर्णय भइसकेको आयोजकले जनाएको छ ।

आजको उपाधिका लागि मिरिक एफसी र सायाबुङ खेल संघबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा सायाबुङका असिम राईको प्रहार मिस भएसँगै ५-४ को गोल अन्तरले मिरिकले उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । विजेता मिरिकले नगद ५१ हजार र उपविजेता सायाबुङले नगद २५ हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

भेट्रान्सतर्फको फाइनल भिडन्तमा छाँगेले सायाबुङलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि चुम्यो । छाँगेका लागि खेलको २४औं मिनेटमा लक्ष्मण राई र २ औं मिनेटमा वीरबल राईले निर्णायक गोल गरेका थिए । विजेता छाँगेले नगद २० हजार र उपविजेता सायाबुङले नगद १० पाए । 

अन्डर–१२ मैत्रीपूर्ण खेल प्रतियोगिताअन्तर्गत नै भएको १२ वर्षमुनिको मैत्रीपूर्ण खेलमा प्रबोध माविले सन्दकपुर अंग्रेजी बोर्डिङ स्कुललाई ३–० ले पराजित गरेको छ । प्रबोधका लागि प्रमेश राई, शेखर गुरुङ र आदुल लिम्बूले गोल गरेका थिए । विजेता र उपविजेता दुवै टोलीले २ हजार ५ सय नगदसहित ट्रफी र  मेडल प्राप्त गरे ।

प्रतियोगिताको खुलातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विधागत रूपमा ट्रफी र मेडलद्वारा पुरस्कृत गरियो । जसअन्तर्गत, सायाबुङका उसल राई ‘उत्कृष्ट खेलाडी’ घोषित भए ।
मिरिक एफसीका पुकार लिम्बू उत्कृष्ट डिफेन्डर, संगीन लिम्बू उत्कृष्ट मिडफिल्डर, रुपेन राई उत्कृष्ट गोलरक्षक र सन्देश लिम्बू सर्वाधिक गोलकर्ता बने । मन्दीप मगरले उदीयमान खेलाडीको पुरस्कार प्राप्त गरे ।

तपाईको प्रतिक्रिया