अर्थ

नयाँ नेतृत्व पाएसँगै सक्रिय बन्दै दुग्ध प्रशोधन केन्द्र

आइतबार श्रावण ३१, २०८३/ Sunday 08-16-26

कन्याम (इलाम)– इलामको सूर्योदय नगरपालिका–८, कन्याममा रहेको कन्याम दुग्ध चिस्यान तथा प्रशोधन केन्द्र फेरि नयाँ गतिमा अघि बढ्ने तयारीमा जुटेको छ । सहकारी–सहकारी मिलेको जिल्लाकै पहिलो र देशभर, प्रदेशमा उत्कृष्ट केन्द्रका रूपमा पहिचान बनाइसकेको केन्द्र १२औं वार्षिक साधारणसभासँगै नयाँ योजनासाथ अघि बढेको छ ।

केन्द्र विगत ४ वर्षदेखि कारोबार ठप्पजस्तै रहेको अवस्थामा यसपटक नयाँ नेतृत्व चयन गर्दै पुनः व्यवस्थित रूपमा दुग्ध संकलन तथा विक्री–वितरणलाई निरन्तरता दिने तयारीमा लागेको हो । 

केन्द्र अध्यक्ष उदयसिंह कुलुङको अध्यक्षतामा सम्पन्न साधारणसभामा उपाध्यक्ष लोकनाथ खड्काले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा भानुप्रकाश खड्काले संस्थाको हालसम्मको वित्तीय अवस्थाबारे जानकारी दिँदै आय–व्यय विवरण प्रस्तुत गरे । संस्थाको आगामी कार्ययोजनाबारे पूर्वव्यवस्थापक ईश्वर घिमिरेले प्रस्तुति दिएका थिए ।

दूध संकलनदेखि बजारसम्म

कन्याम दुग्ध चिस्यान तथा प्रशोधन केन्द्रले स्थानीय किसानबाट संकलित दूध चिस्याएर स्थानीय बजारसँगै झापा र विराटनगरसम्म विक्री गरिरहेको थियोे । केन्द्रमा ७ सय ७३ किसानबाट दैनिक करिब ३ हजार ५ सय लिटर दूध संकलन भइरहेको छ । यसअघि केन्द्रमा ८ सय १५ किसानबाट करिब ३ हजार लिटर दूध संकलन भएको विवरणसमेत प्रस्तुत गरिएको छ ।

किसानले उत्पादन गरेको दूध व्यवस्थित रूपमा संकलन, चिस्यान र बजार व्यवस्थापन गर्न केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । ग्रामीण क्षेत्रमा उत्पादित दूध बजारसँग जोड्ने भएकाले स्थानीय पशुपालक किसानका लागि केन्द्र महत्वपूर्ण माध्यम बनेको छ ।

६० लाख रुपैयाँ अनुदान

संकलन केन्द्रको स्तरवृद्धिका लागि नेपाल सरकारमार्फत् उन्नति परियोजनाबाट ६० लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो । यो सहयोगले केन्द्रको पूर्वाधार तथा क्षमता विकासमा योगदान पुगेको छ । 

तर, पछिल्लो समय विभिन्न कारणले केन्द्रको कारोबार प्रभावित भएपछि किसानबाट हुने दूध संकलन र बजार व्यवस्थापनमा समेत समस्या आएको थियो । अब नयाँ कार्यसमितिले केन्द्रलाई पुनः सक्रिय बनाउँदै किसानलाई नियमित रूपमा दूध विक्री गर्ने वातावरण तयार गर्ने लक्ष्य लिएको छ ।

केन्द्रमै दूध बेच्न किसानलाई आग्रह

कार्यक्रममा पूर्वअध्यक्ष इकाराम प्रधानले संस्थाको विगत र आगामी सम्भावनाबारे बताए । सफल कृषकसमेत रहेका सूर्योदय नगरपालिका–८ का जनप्रतिनिधि पदम गिरीले स्थानीय सहकारी संस्था तथा किसानलाई कन्याम दुग्ध चिस्यान केन्द्रमार्फत् दूध विक्री गर्न आग्रह गरे ।

दूध उत्पादन गर्ने किसानको संख्या बढ्दैगएको अवस्थामा संकलन, चिस्यान र बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउनसके किसानको आम्दानी बढाउन सकिने उनको भनाइ थियो ।

नयाँ कार्य समिति चयन

साधारणसभाले केन्द्रको नयाँ कार्य समितिसमेत चयन गरेको छ । नयाँ कार्य समितिको अध्यक्षमा लोकनाथ खड्का चयन भएका छन् ।

नवनिर्वाचित कार्य समितिमा उपाध्यक्ष अविनारायण कुइँकेल, सचिव वृषबहादुर प्रधान, सहसचिव द्वारिकाप्रसाद पोख्रेल र कोषाध्यक्ष भीमबहादुर श्रेष्ठ, युवराज पौडेललगायत छन् ।

४ वर्षदेखि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको केन्द्रले नयाँ नेतृत्व पाएसँगै पुनः गति लिने अपेक्षा गरिएको छ । किसानबाट नियमित दूध संकलन, चिस्यान तथा प्रशोधन क्षमता उपयोग, बजार विस्तार र संस्थागत व्यवस्थापनलाई प्राथमिकता दिनसके कन्याम दुग्ध चिस्यान तथा प्रशोधन केन्द्रले स्थानीय दुग्ध उत्पादक किसानको आर्थिक गतिविधिलाई थप मजबुत बनाउन सक्ने देखिन्छ ।

सहकारीको सामूहिक लगानी र किसानको उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले स्थापना भएको यो केन्द्रको पुनः सञ्चालनले लामो समयदेखि प्रतीक्षामा रहेका किसानलाई समेत नयाँ आशा दिलाएको छ । विगतमा कृषकका लागि प्रभावकारी तालिम, घाँस काट्ने मेसिन वितरण, अवलोकन भ्रमण, उत्कृष्ट किसानलाई पुरस्कारजस्ता कार्यक्रम नियमित गर्ने गरेको थियोे, जुन अझै प्रभावकारी रूपमा चलाउने भावी कार्ययोजनामा उल्लेख छ । यस केन्द्रसँग दूध ढुवानीका लागि आफ्नै सवारी साधन, भवन र जग्गासमेत छ ।
 

तपाईको प्रतिक्रिया