इलाम– पर्यटकीय जिल्लाका रुपमा रहेको इलाम यतिबेला सुनसान जस्तै छ । वैशाख यता इलामका साना तथा ठूला होटलहरु सुनसान बनेका छन् । दैनिक रुपमा खचाखच हुने होटलहरुमा अहिले बाध्यताबस आउने पाहुना बाहेक अन्य आगन्तुकहरु आउनै छोडेका छन् ।
यसको मुख्य कारण भने इलाम सदरमुकाम हुँदै पाँचथर, ताप्लेजुङ सम्म जाने भरपर्दो सडक नहुनुनै हो । मेची राजमार्गको माइखोला स्थित राजदुवाली सडक खण्ड करिब ४० दिन यता पूर्ण अवरुद्ध भएपछि त इलाम आउने पाहुनाहरु आउननै छोडेका छन् । ‘वैशाक देखिनै सुनसान छ, भएको बुकिङ पनि रद्ध भएका छन् । फाटफुट आउने बाहेक केही छैन ।’ इलाम सदरमुकाम स्थित ग्रीनभ्यु होटलका व्यवस्थापक डम्बर सापकोटाले भने ‘सिजनमा अढाइ–तीन सय मान्छे हुुन्थे । तीन लाख रुपियाँ सम्मको कारोबार हुन्थ्यो । अहिले त के कारोबार शुन्यमा झरेको छ ।’
सदरमुकामकै न्यु–पोख्रेली होटलको पनि अवस्था उही छ । दैनिक दुुई सय जति मान्छेको आवागमन हुने पोख्रेलीमा अहिले स्थानीय एक–दुई कार्यक्रम बाहेक केही पनि हुन सकेको छैन । ‘दैनिक कम्तिमा ३५–४० हजारको कारोबार हुन्थ्यो, अहिले त्यो कारोबार शुन्य छ ।’ पोख्रेलीका सञ्चालक विजय राईले भने ‘यसपटक सबै होटलहरुलाई खर्च धान्न धेरै गाहे भएको छ । सबै सामग्रीको मुल्य बढेको छ । ग्याँस अभाव र आएको पनिन मुल्य बढी तिर्नुपर्छ । होटलहरुको अहिले खानाको रेट भनेको पुरानै छ । त्यसले गर्दा पनि खर्च बढी छ ।’ होटलहरु सुनसान हुँदा त्यसको असर भने होटल सँग जोडिएका यातायात व्यवसायी, सागसब्जी, दूधलगायतका वस्तु उत्पादक साना किसानहरु समेत प्रभावित भएको राई बताउँछन् ।
चिसो मौसम, घुम्नका लागि शान्त र सुरक्षित स्थान भएकाले पनि इलाम भित्रने आन्तरिक तथा बाह्य पर्यटकहरुले इलामलाई मन पराउने गरेका छन् । विशेष गरि भारतको विहार, सिक्किम, डुुर्वससहित पश्चिम बंगालका पर्यटकहरु इलाम आउने गरेका थिए । गर्मी मौसम शुरु भएपछि नेपालको तराई, पश्चिम नेपाल र भारतीय पर्यटकहरुले भरिभराउ हुने इलाममा अहिले होटल तथा पर्यटन व्यवसायनै संकटमा परेको होटल व्यवसायी संघ इलामका महासचिव प्रकाश चापागाईं बताए । चापागाईंका अनुसार इलाम सदरमुकाम सहित माईवारि ठूला, साना होटल र होमस्टेहरु समेत गरेर करिब चार सय होटलहरु रहेका छन् । कति व्यवसायीले त ठूलो लगानीमा नयाँ–नयाँ होटल व्यवसाय समेत शुरु गरेको चापागाईंको भनाइ छ । ‘सबै जसो व्यवसायीले बैंकबाट ऋण लिएर व्यवसाय शुरु गरेका थिए । चार महिना यता कारोबार ठप्प भएपछि बैंकको व्याज तिर्न, होटलमा रहेका कर्मचारीलाई तलब खुवाउन समेत समस्या भएको छ ।’ चापागाईंले भने ‘यहाँका दैनिक १० हजार देखि ५०–६० हजार सम्म कारोबार गर्ने ठूला र साना सबै होटलहरु सुुनसाननै छन् । अहिले त स्थानीय खाना खाने मानिसहरुले पनि होटलमा खान छोडेका छन् । बाहिरका पर्यटक आउने कुरै भएन ।’
इलामका होटल तथा पर्यटन व्यवसाय सञ्चालनका लागि अब एउटै विकल्प केचना–कञ्चनजंघा सडक निर्माण नै रहेको होटल सञ्चालकहरुको बुझाइ छ । इलामबाट झापा झर्न छोटो दुरी अर्थात करिब ढेड घण्टामात्र समय लाग्ने भएकाले ताप्लेजुङको पाथीभरा सम्म पुगेर फर्कने पर्यटकहरुलाई आवतजावत गर्न केचना–कञ्चनजंघा सडक सहज हुने गरेको छ । तर, यो सडकमा ठेकेदार कम्पनीले तोकिएको समयभित्र काम नगर्दा अहिले इलामको सबै क्षेत्रको आर्थिक अवस्था शुन्यमा झरेको यहाँका व्यवसायी बताउँछन् । ‘केचना–कञ्चनजंघा सडकलाई सन्दकपुर सम्म कालोपत्रे गर्न सक्दा मात्र अब इलाम चलायमान बन्न सक्छ ।’ होटल व्यवसायी संघ महासचिव चापागाईंले भने ‘सिमलगोलाई–तिल्केनी सडकमा साना सवारीमात्र सञ्चालन हुन सक्ने भएपछि इलामसहित पाँचथर र ताप्लेजुङ सम्मको होटल र पर्यटनका लागि एउटा विकल्प केचना–कञ्चनजंघा सडकनै हो । मेची राजमार्गको राजदुवाली खण्डले काम दिंदैन ।’
यता पर्यटन क्षेत्रमा काम गर्ने इलामका ‘ट्राभल्स एण्ड टुर्स’ कम्पनीहरु पनि पर्यटक आवागमन नहुँदा शुन्य कारोबारमा झरेको इलामेली ट्राभल्स एण्ड टुर्सका सञ्चालक गृष्म सुब्बाले बताए । ‘अहिले यातायात व्यवसाय समेत संकटमा छ । अत्यावश्यक कामका लागि बाहेक यात्रुहरु छैनन् । सडक नभएपछि र वैकल्पिक सडकमा सहज ढंगले सवारी सञ्चालन गर्न नसक्दा इलामको सबै क्षेत्रनै आर्थिक संकट तर्फ गएको छ ।’ सुब्बाले भने ‘इलाम सदरमुकाम हुँदै माइपोखरी, सन्दकपुर, ट्ङलु, जौबारी सम्म टुर प्याकेजमा आउने पर्यटकको आवागमन शुन्य छ ।’
तपाईको प्रतिक्रिया