इलाम–विश्व बजारमा माग बढ्दै गएको नेपाली चियाको ‘अर्गानिक’ प्रमाणिकरणका लागि भने किसान र उद्योगहरुले वर्षेनी लाखौं रुपियाँ खर्च गर्ने गरेका छन् ।
नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला नहुनु र भएको प्रयोगशालाले पनि मान्यता नपाउनुले लाखौं रुपियाँ खर्च गर्नुपर्ने बाध्यता रहेको चिया उद्योगीले बताएका छन् । अन्तर्राष्ट्रिय स्तरका नासा, आइओएम, सेरेसलगायतका संस्थाहरुले नेपाली चियाको बोट सम्म आएर अर्गानिक भए नभएको प्रमाणित गरेपछि मात्र नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा जाने अवसर पाउने गरेको छ ।
अर्गानिक प्रमाणिकरण गर्ने ती संस्थाहरुमा निवेदन दिएपछि उनीहरुले किसानको चियाको बोट सम्म आएर अध्ययन गर्छन् । एक वर्षमा तीन–चार पटक सम्म अनुगमन र अध्ययन् गरेपछि मात्र उनीहरुले अर्गानिक भएको सिफारिस पठाउने गरेको केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले बताए ।
राईका अनुसार अर्गानिक प्रमाणिकरण भएका इलामका धेरै चिया उद्योगहरुले वार्षिक आठ लाख रुपियाँ देखि ३२ लाख रुपियाँ सम्म प्रमाणिकरणमै खर्च गर्ने गरेका छन् । यसरी प्रमाणिकरण भएको चिया जर्मन, रसिया, फ्रान्स, नेदरल्याण्ड, अमेरिका, हल्याण्ड, बेल्जियमलगायत युरोपियन मुलुकहरु र छिमेकी राष्ट्र चीनमा जाने गरेको छ । इलामका गोर्खा टी स्टेट, जसबीरे चिया उद्योग, तीनजुरे चिया सहकारी, उच्च पहाडी चिया सहकारी लगायत दर्जनौं उद्योगहरुले उत्पादन गरेको ‘स्पेश्यालीटि टी’ विषेश गरि तेस्रो मुलुक जाने गरेको छ ।
त्यसोत विगतमा भएका चियाका विश्वभरका विभिन्न प्रदर्शनीहरुमा तीनजुरे, जसबीरे गोर्खालगायतका उद्योगहरुका चियाले ‘गोल्ड मेडल’ पनि प्राप्त गरेका थिए । नेपाली चियाको स्वाद र वास्नामा विदेशीहरु निकै लोभिने गरेको पनि चिया व्यवसायी बताउँछन् ।
‘हामीले वर्षौं देखि अर्गानिक उत्पादनका लागि समय र मुल्य खर्चिएका छौं । नासाबाट सटिफाइ हुने हाम्रो चियाका लागि सबै किसान र उद्योगको गरेर वार्षिक ३२ लाख रुपियाँ खर्च हुने गरेको छ ।’ गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईंले भने ‘यसपटक प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्नेमा चासो देखाउनु भएको छ । हामी त्यसमा आशावादी छौं । किनकि अब नेपाली चियाको भविष्य भनेकै पूर्ण अर्गानिकमा छ ।’ नेपालमा विसं १९२० देखि चिया रोप्न शुरु भएको इतिहासले अहिले १६३ वर्ष पार गर्दैछ ।
तपाईको प्रतिक्रिया