इलाम–इलामको चूलाचूली गाउँपालिकामा भूमि प्रशासन सेवा शुरु भएको छ । देशभर सेवा शुरु गरिने ३५ वटा पालिका मध्ये जिल्लामा पहिलो पटक चूलाचूली गाउँपालिकामा यो सेवा शुरु गरिएको हो ।
चूलाचूली –३ का सुरेश थुलुङको एकीकृत लालपुर्जा तयारी र चूलाचूली – ६ का राजेन्द्र घिमिरेको जग्गा नक्सा प्रिन्ट गरेर भूमि प्रशासन कार्यको उद्घाटन गरिएको थियो ।
यसअघि भूमि सम्बन्धी कामका लागि झापा झरेर इलाम सदरमुकामनै धाउने बाध्यता रहेका चुलाचुुली बासीलाई यो सेवाले पालिकामै जग्गाका सबै काम हुँदा निकै सहज हुने भएको छ । सेवा शुरु भएपछि जिल्ला स्थित भूमि प्रशासन कार्यालयबाट ‘डिजिटलाइज’ भएका धनी पूर्जाका जग्गा धनीहरुलाई पहिलो चरणमा सेवा दिइने कार्यालयले जनाएको छ । ‘डिजिटलाइज गरिएका पूर्जामा जग्गा धनी संकेत नम्बर हुन्छ । त्यो नम्बर भएपछि पालिकामै सबै काम हुन्छ ।’ भूमि प्रशासन कार्यालयका कम्प्युटर अपरेटर तीर्थ नेपालले भने ‘धनी पूर्जामा विद्युतीय फोटो, औंठा छाप र संकेत नम्बर हुने गरेको छ । यदि यस्तो धनी पूूर्जा छैन पुरानै छ भने ती जग्गा धनीले भने जिल्ला कार्यालयमा आएर सबै विद्युतीय बनाउनु पर्छ ।’ यस्तै कसैको नाममा तीन–चारवटा सम्म धनीपूर्जा रहेकाले उनीहरु सबैको एउटै पूर्जा बनाएर संकेत नम्बर लिनुपर्ने हुन्छ ।
पुरानो जग्गा धनीपूर्जा भएका सेवा ग्राहीका लागि गाउँपालिकाले जिल्ला कार्यालयमा एक जना छुट्टै कर्मचारी समेत रािखएको छ । ती कर्मचारीले आफ्नो पालिकाका सेवा ग्राहीको एउटा फारम भरेर कार्यालयमा बुझाउने र त्यसपछि सबै धनीपूर्जा ‘डिजिटलाइज’ गरिने बताइएको छ ।
यता गाउँपालिकामा शुरु भएको भूमि प्रशासन सेवाबाट भने सेवाग्राहीले राजीनामा पास, अंशवण्ड, रोक्का लगायतका भूमि सम्बन्धी सबै काम गर्न पाउने छन् ।
तपाईको प्रतिक्रिया