समाज

सडक निर्माणमा लापरबाही गरेको आरोप, स्थानीयले रोकिदिए काम

शनिबार भदौ २०, २०८३/ Saturday 09-05-26

माइजोगमाई (इलाम)- संघीय बजेटअन्तर्गत आर्थिक वर्ष २०८२÷८३ मा सांसद विकास कोषबाट विनियोजित रकमबाट निर्माण भइरहेको गुप्ती–शुक्रबारे–नामसालिङ–बज्रदेवी हुँदै इलाम जोड्ने सडक निर्माणमा लापरबाही भएको भन्दै स्थानीयले निर्माण कार्यमा रोक लगाएका छन् ।

माइजोगमाई गाउँपालिका ३ र ४ मा कार्की निर्माण सेवा तथा सप्लायर्सले ठेक्का लिएर सडक निर्माण गरिरहेको छ । माइजोगमाई ४ मा करिब २ करोड रुपैयाँ र वडा ३ को माथिल्लो गुप्ती खण्डमा करिब १ करोड रुपैयाँको लागतमा सडक निर्माण भइरहेको बताइएको छ ।

गुप्ती खण्डमा करिब १ किलोमिटर पक्की नाली निर्माण, ग्राभेल तथा तीन स्थानमा ह्युम पाइप राख्ने सम्झौता रहेको निर्माणमा संलग्न राम राईले बताए ।

तर, निर्माण सुरु भएदेखि नै काममा लापरबाही भएको भन्दै स्थानीयले गुनासो गर्दैआएका थिए । यसअघि पनि स्थानीयको विरोधपछि केही समय निर्माण कार्य रोकिएको थियो । पुनः काम सुरु भएपनि निर्माणमा सुधार नदेखिएको भन्दै स्थानीयले फेरि काम रोकिदिएका हुन् ।

नाली निर्माणको काम सम्पन्न गरी ह्युम पाइप राख्ने कामसमेत अन्तिम चरणमा पुगेका बेला सिम भएको ठाउँमा हिलो माटो हालेर सवारीसाधन सञ्चालनमा अवरोध भएपछि स्थानीयले विरोध जनाएका थिए । त्यसपछि व्यापक जनगुनासो आएपछि माइजोगमाई गाउँपालिकालाई अनुगमन गर्न आग्रह गरिएको थियो ।

गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक प्रविना राई, योजना शाखा प्रमुख बन्धु राई, इन्जिनियर प्रकाश भण्डारी र वाङ्छु लेप्चा, कार्यपालिका सदस्य छत्रबहादुर परियार, माइजोगमाई–४ का वडाध्यक्ष डुरन देवान, वडा ३ का वडाध्यक्ष राम घिमिरे, वडा सदस्य विक्रम राई, गाउँपालिकाका पूर्वअध्यक्ष जितबहादुर राई, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको उपस्थितिमा सडक अनुगमन गरिएको थियो ।

नाली र ह्युम पाइप निर्माणमा प्रश्न

अनुगमनका क्रममा निर्माणाधीन नालीको काम गुणस्तरहीन भएको पाइएको अनुगमनमा सहभागीले बताएका छन् । नाली निर्माणमा स्टिमेटअनुसार गिट्टी, बालुवा र सिमेन्टको मात्रा प्रयोग नगरिएको तथा ढुंगाको मात्रा बढी प्रयोग गरिएको पाइएको थियो ।

त्यस्तै, ह्युम पाइप राखिएको स्थान हिलोले छोपिएको अवस्थामा भेटिएको थियो । बाहिरबाट हेर्दा ह्युम पाइप ठीक देखिएपनि माइजोगमाई ४ का वडाध्यक्ष डुरन देवानले परीक्षण गर्दा पाइपको तल बाँस र प्लाई हालेर छोपिएको भेटिएको थियो । त्यसपछि स्थानीयले उक्त संरचना भत्काएर वास्तविक अवस्था हेरेका थिए ।

यस विषयमा निर्माणमा संलग्न राम राईसँग प्रश्न गर्दा आफू उपस्थित नभएको समयमा कामदारले त्यसरी काम गरेको बताएका थिए । तर, कामदारहरूसँग सोध्दा आफूहरूले ठेकेदारकै निर्देशनअनुसार काम गरेको बताएपछि केही समय भनाभनसमेत भएको थियो ।

त्यसपछि ठेकेदारले निर्माणमा भएका कमजोरी सच्याएर काम अघि बढाउने प्रतिबद्धता जनाएको बताइएको छ ।

अनुगमनपछि तत्काल निर्माण कार्य रोक्ने र सडक पूर्वाधार विकास कार्यालय, इटहरीबाट प्राविधिक टोली बोलाएर पुनः अनुगमन गराएपछि मात्रै काम सञ्चालन गर्ने निर्णय भएको छ ।

हिलो भएको तथा बिग्रिएको ह्युम पाइप रहेको स्थानमा तत्काल पुनर्निर्माण गर्ने सहमति पनि ठेकेदारले गरेको बताइएको छ ।

उपाध्यक्ष राईले उक्त योजना सांसद विकास कोषको बजेटअन्तर्गत रहेकाले स्थानीय तहलाई प्रत्यक्ष अनुगमन गर्ने अधिकार नभएपनि स्थानीयको व्यापक जनगुनासोपछि अनुगमन गरिएको बताइन् । अनुगमनका क्रममा निर्माणमा चरम लापरबाही देखिएको उनको भनाइ छ ।

यस्तै, इन्जिनियर प्रकाश भण्डारीले पनि निर्माण कार्य मापदण्डविपरीत भएको पाइएको भन्दै तत्काल काम रोकिएको बताए । सडक पूर्वाधार विकास कार्यालय, इटहरीबाट पुनः अनुगमन गराइ आवश्यक सुधारपछि मापदण्डअनुसार सडक सञ्चालनमा ल्याइने उनले बताए ।

निर्माणको गुणस्तरमा ध्यान नदिँदा आगामी दिनमा सडक झनै बिग्रने भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। सम्झौताअनुसार गुणस्तरीय काम हुनुपर्ने भन्दै स्थानीयले मापदण्डविपरीतको काम तत्काल रोक्न माग गरेका छन् ।

स्थानीयले सडक निर्माणमा प्रयोग हुने सामग्रीको गुणस्तर तथा परिमाणको प्राविधिक रूपमा परीक्षण गरी मापदण्डअनुसार काम सुनिश्चित भएपछि मात्र निर्माण अघि बढाउनुपर्ने माग गरेका छन् ।

हाल स्थानीयको विरोध र अनुगमनपछि निर्माण कार्य रोकिएको छ । सडक पूर्वाधार विकास कार्यालय, इटहरीबाट हुने पुनः अनुगमनपछि मात्रै निर्माण कार्य अघि बढ्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया