इलाम- इलाम उद्योग वाणिज्य संघ अध्यक्षमा चेतनाथ पौडेल (कृष्ण) निर्विरोध चयन भएका छन् । इलाममा चलिरहेको १०औं जिल्ला अधिवेशनको उम्मेदवारी मनोनयनमा अध्यक्ष पदमा पौडेलको मात्रै नाम दर्ता भएको हो ।
वरिष्ठ उपाध्यक्षमा दिपेश श्रेष्ठ पनि दोस्रो कार्यकाललाई निर्विरोध भए । उद्योग उपाध्यक्षमा प्रेम सापकोटा र वाणिज्य उपाध्यक्षमा श्रीबहादुर विष्टको मात्रै उम्मेदवारी परेपछि उनीहरू दुवै जना निर्विरोध भएका छन् । एक पदका लागि महिला उपाध्यक्षमा भने दिव्या भट्टराई र भगवती पराजुली कोइराला (मञ्जु)को उम्मेदवारी परेको छ ।
महासचिवमा हेमन्त गौतम र सचिवमा सुमन दास पनि दोहोरिने भएका छन् । यी पदमा अरूले मनोनयन दर्ता गराएनन् । कोषाध्यक्षमा गणेश सुवेदीको नाममात्रै दर्ता भएकाले उनीहरू पनि निर्विरोध चयन भएका छन् ।
५ खुला सदस्यका लागि ७ जनाको उम्मेदवारी परेको छ । पोषक बानियाँ, ऋषि पौडेल, हिमाल बस्नेत, नितेश खत्री (बच्चु), किशोर भण्डारी, शैलेश श्रेष्ठ र सरुन वैद्यको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । ३ महिला सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा लीला मैनाली, लीला खत्री, सकुन्तला राई, पूजा शिवाकोटी, नीता शिवा चापागाईं र अनुजा काफ्ले छन् ।
अधिवेशनअन्तर्गत मनोायन दर्ता, दाबी–विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ । संख्याभन्दा बढी उम्मेदवारी परेका पदका लागि सहमतिको प्रयास गरिने र सहमति हुन नसके आइतबार बिहान १० बजेदेखि निर्वाचन हुने संघले जनाएको छ ।
तपाईको प्रतिक्रिया