घुमफिर-पर्यटन

कोशीका घुम्ने ठाउँ 

Saturday 11-23-24

नेपालका सात प्रदेशमध्ये कोशी प्रदेशमा संसारकै अग्लो स्थान सगरमाथादेखि नेपालकै होचो स्थान झापाको केचना कवलसम्म समेटिन्छन् । सर्वोच्च शिखर सगरमाथामात्र होइन, विश्वको तेस्रो अग्लो चुचुरो कञ्चनजंघा हिमाल पनि कोशीमै पर्छ । 

यहाँको भौगोलिक वनावट, हावापानी, विविधतापूर्ण छ । सुन्दर पहाड र हिमवत् खण्ड, उच्च हिमशृंखलालगायत प्राकृतिक सम्पदाले भरिएको कोशी पर्यटनको अब्बल गन्तव्य हो । १४ जिल्ला समेटिएको कोशी प्रदेश हिमाल, पहाडदेखि तराईसम्म फैलिएकाले पर्यटन गन्तव्य वास्तवमै मनमोहक लाग्छन् । 

कोशीमा महानगरपालिका १, उपमहानगरपालिका २, नगरपालिकाहरू ४६ र गाउँपालिका ८८ वटा गरी १३७ वटा स्थानीय तह छन् । ती सबै तहमा फरक पहिचान र महत्व बोेकेका पर्यटकीय गन्तव्य छन् । तमोर, अरुण, दूधकोसी, लिखु, सुनकोशी, सप्तकोशीलगायत नदीमा जल पर्यटनको सम्भावना पनि छ ।

केही वर्षअघि कोशी प्रदेशको पर्यटनका सवालमा एउटा नारा सार्वजनिक भएको थियो– प्रदेश १ को सान, सबैको अनुहारमा मुस्कान । 

वास्तवमा कोशीमा अथाह स्म्भावनाहरू छन् र पर्यटकले मजाले समय व्यथित गर्न सक्छन् । पर्यटन क्षेत्रबाटै स्थानीयको मुहारमा मुस्कान ल्याउन सकिने प्रसस्त आधार छन् ।

तर, यहाँका गन्तव्यको अन्तर्राष्ट्रियस्तरमा प्रचार हुन सकिरहेको छैन । सगरमाथा विश्वव्यापी रूपमा चर्चित भएपनि प्रदेश सरकारको मातहतबाट सगरमाथाको पर्यटन विकासमा पर्याप्त काम भएको छैन ।  कोशी प्रदेश सरकारका निवर्तमान प्रवक्ता शमशेर राई कोशी पर्यटनको अब्बल हब मात्र नभइ आर्थिक समृद्धिका लागि अन्य प्रदेशको तुलनामा अग्रणी भूमि रहेको दाबी गर्छन् ।

‘सर्वोच्च शिखर सगरमाथा, चियाबारीका हरिया फाँट, राष्ट्रिय निकुन्जहरू साथै हिमाल, पहाड र तराईमा फरक पहिचान एवम आकर्षण बोकेका दर्जनौं स्थान छन् । जहाँ बारैमास पर्यटकहरू आइरहनुहुन्छ । त्यसैले कोशीका लागि पर्यटन अर्थतन्त्रको गतिलो आधार हो,’ उनी भन्छन् ।

कोशी प्रदेश कृषि, धार्मिक, प्राकृतिक, सांस्कृतिक हिसाबले कमजोर छैन् । प्रदेशको पूर्वतर्फ भारतको पश्चिमबंगाल र दक्षिणतर्फ बिहार पर्छ ।  यसैगरी उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्ने भएकाले भारतीय, बंगलादेशी एवम चिनियाँ पर्यटक भित्र्याउन सकिने प्रसस्त आधारहरू रहेको राईको भनाइ छ । 

हिमाली क्षेत्र सगरमाथा, कन्चनजंघा मकालु, चोयु, ल्होत्से हिमशृंखला देखाएर वा आरोहण गराएर कोशीले समृद्धि हासिल गर्नसक्छ । सगरमाथा रास्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्यजन्तु आरक्षण, कन्चनजंघा संरक्षणलगायत घुमघामका रमाइला गन्तव्य हुन् ।

असंख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले भरिपूर्ण कोशी धार्मिक पर्यटनको उत्तिकै सम्भावना छ । किनकि, ताप्लेजुङको पाथीभरा, इलामको माइपोखरी र सानी पाथीभरा, झापाको अर्जुनधारा र सताक्षीधाम, सुनसरीको बराह क्षेत्र, बुढासुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेवलगायत बराह पोखरी, साल्पा पोखरी, दूधकुण्ड, कालिकादेवी, छिन्ताङदेवी, कन्काई आदि प्रख्यात धार्मिकस्थल छन् ।

विश्वकै गहिरो उपत्यका अरुण, ३२ प्रकारका लालीगुराँसमध्मे २८ प्रकारका लालीगुराँस पाइने तीनजुरे–मिल्के–जलजले (टिएमजे), नेपालकै अग्लो झरना ह्यात्रुङ, साल्पापोखरी, सभापोखरी जस्ता स्थानहरू कोशीमै छन् । सुविधासम्पन्न होटल, रिसोर्ट र कटेज सञ्चालन भइसकेकाले कोशी घुमेर हप्तौं बिताउन सकिन्छ । 

२०३८ सालमा बेलायती युवराजले भ्रमण गरेको भेडेटार र ०६८ सालमा सिएनएनले भेडेटार नाम्जे गाउँलाई विश्वका उत्कृष्ट १२ पर्यटकीय गन्तव्यको सूचीमा राखिसकेकाले कोशीको पहिचान विश्वमा छरिएको छ । प्रदेशको सबैभन्दा रमणीय जिल्ला इलाम चियाखेतीका कारण चर्चित छ । कोशी टप्पुलाई अर्ना र चराको स्वर्ग मानिन्छ । कोशीका करिब नौं वटा विमानस्थल छन् । जसमध्ये, दुईवटा मात्र निरन्तर सञ्चालित छन् । एसिया हाइवेसँग जोडिएको काँकडभिट्टादेखि सुरु भएको पूर्व–पश्चिम राजमार्गले पर्यटकलाई सहज भएको छ ।

पाथीभरा 

ताप्लेजुङको पाथीभरा हिन्दु एवम बौद्धहरूको प्रख्यात धार्मिकस्थल हो । विशेषगरी भारतीय पर्यटक दार्जिलिङ वा सिलिगुडी हुँदै यहाँ पुग्ने गर्छन् । १२ हजार फिट उचाईमा रहेको मन्दिर विश्वास, आस्था एवं पवित्रताकी देवीका रूपमा मान्ने गरिन्छ । हाल यहाँसम्म पुग्न केवलकारको योजना बनाइँदैछ । मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखर भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण, ल्होत्से हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ । सदरमुकाम फुङलिङदेखि १७ किलोमिटर यात्रा गर्दा १२ हजार ४ सय ४६ फिटको उचाइमा रहेको मन्दिर पुग्न सकिन्छ । 

साधुटार र फालोट

इलाम र ताप्लेजुङको बीचमा रहेको पाँचथरमा घुम्न लायक प्रसस्त पोइन्ट छन् । भर्जिन गन्तव्यहरूको पहिचान भइरहेको छ । तर, यतिबेला चिसो सिरेटोसँगै कोइलीको कुहुकुहुदेखि चौँरी र भेडाका घण्टीको आवाजमा रमाउँदै पुग्न सकिने गन्तव्यहरू लब्रेकुटी, साधुटार र फालोटलाई रोजाइमा पार्न सकिन्छ ।

किरात धर्मगुरु फाल्गुनन्दले साधना र ध्यानबाटै पानी उमारेको विश्वास गरिने लब्रेकुटी अध्यात्म र रमणीय प्रकृतिको गन्तव्य हो । यहाँ रहेको गुराँसको जङ्गल घुम्दा दिन बितेको पत्तो हुँदैन । नेपाल, भारत र भुटानका हिमालको दृश्यावलोकन गर्न सकिने फालोट क्षेत्र यहाँको अर्को उत्कृष्ट गन्तव्य हो ।

फालोटका चारराते, तीन सिमाना, गोर्खेपानीलगायत स्थान पुग्न फिदिमबाट कच्ची बाटोको यात्रा गर्नुपर्छ । पछिल्लो समय धेरैको रोजाइमा पर्ने साधुटारको सानो पोखरी निकै मनमहोक लाग्छ ।  कुम्भकर्ण र कञ्चनजंघा हिमालको छायाडाँडामा रहेको सानो पोखरीमा पर्दा देखिने दृश्यमा मोहित बनाउँछ ।

अन्तुदेखि माइपोखरीसम्म

इलामका हरेक पर्यटकीय गन्तव्य सुगम स्थानमा छन् । यातायातको राम्रो सुविधा छ । इलाम सदरमुकामबाट करिब १५ किलोमिटर उत्तरतिर ६ हजार ९ सय फिटको उचाइमा रहेको करिब एक किलोमिटर क्षेत्रफलमा फैलिएको माइपोखरी सन् २००८ को अक्टोबरमा विश्व रामसार क्षेत्रका रूपमा सूचीकृत भएको हो । यो स्थान हरियाली र मनमोहक छ । यहाँबाट पैदल हिडेर अर्को चर्चित गन्तव्य सन्दकपुर पुग्न सकिन्छ । 

यता, झापाबाट करिब ५० किलोमिटरमाथि रहेको इलामकै अन्डुडाँडा सूर्योदय दृश्यावलोकनका लागि प्रख्यात छ । हिजोआज यो स्थान डेटिङ स्टेसन वा हनिमुन गन्तव्यका रूपमा विकसित हुँदैगएको छ । 

यता मेची राजमार्गसँगै रहेको कन्याम चियाबारी घुम्नेका लागि चर्चित गन्तव्य हो । स्थानीय पर्यटन व्यवसायी टेकराज गिरीका अनुसार कन्याम घुमिसकेका पर्यटक अन्तु पुग्ने गर्छन् । कन्याममा जातीय पोसाकको पहिरन, घोडचढी, टि गार्डेन हाइकिङका लागि पर्यटक धेरै समय व्यतित गर्ने गरेको गिरीले बताए । 

केचना र जामुनखाडी

झापाको सदरमुकाम चन्द्रगढी बजारदेखि २६ किलोमिटर सडक दूरीमा रहेको केचना नेपालको सबभन्दा होचो ठाउँ हो । समुन्द्री सतहबाट ५८ मिटर मात्र उचाइमा रहेको केचना पर्यटकको रोजाइमा छ । 

चन्द्रगढीबाट पूर्व–पश्चिम राजमार्गमा निस्किएपछि सतासीधाम, कन्काई, अर्जुनधारा जान सकिन्छ । जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिले सिमसारसहितको वन क्षेत्रलाई संरक्षण गरेर घुम्नलायक ठाउँ बनाएको छ । यो ठाउँ गर्मी छल्नका लागि रमाइलो गन्तव्य हो ।

कोशीटप्पु

सुनसरी पुग्नेबित्तिकै जोकोही धरान पुग्न चाहन्छन् । धरान पूर्वी नेपालको आधुनिक शहर हो । धरानमा घुम्न लायक प्रशस्त गन्तव्य छन् । बराह क्षेत्र, विष्णुपादुका, चतराधाम, पिण्डेश्वर, दन्तकाली, बूढासुब्बा, शिवजट्टालगायत ठाउँ सुनसरी उत्रिएपछि पुग्नैपर्छ । सप्तकोसी जल पर्यटनको रमाइलो गन्तव्य हो । सुनसरीमा कोसीटप्पु वन्यजन्तु आरक्ष धेरैको रोजाइमा पर्छ ।

२०३२ मा स्थापना कोशी टप्पु वन्यजन्तु आरक्ष १ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । सुनसरी, सप्तरी र उदयपुरमा समेत फैलिएको १९८७ मा रामसार क्षेत्रका रूपमा सूचीकृत भएको हो । 

नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा करिब पाँचसय प्रजातिका चराहरू, दुर्लभ अर्ना र डल्फिनसमेत पाइन्छ । बदलीरहने मौसम यहाँको पहिचान हो । तराईको मस्त गर्मी छल्न पर्यटक आरक्षणतिर छिर्ने गर्छन् । 

विराटनगरबाट करिब ५० किलोमिटर उत्तर–पश्चिम र धरानबाट करिब ४० किलोमिटर पश्चिम–दक्षिणमा अवस्थित कोशीको टप्पु कोशीटप्पु सिमसार भूमि र दलदले क्षेत्रका लागि विश्वमै प्रशिद्ध छ । त्यसबाहेक इटहरी तथा इनरुवालगायतका सहर सुनसरीका घुम्न लायक ठाउँ हुन ।

बेतना सिमसार

मोरङ एक औद्योगिक नगरी हो । कोशी प्रदेशको राजधानी विराटनगर यहीं छ । महाभारतकालीन विराट राजाको दरबार यहाँको चर्चित स्थान हो । राजारानी धिमाल पोखरी, गोविन्दपुरको सुनवर्षी पोखरीसहित नेपालकै पहिलो उद्योग विराट जुट मिल, जुद्ध म्याच फ्याक्ट्री, विभिन्न उद्योग तथा कलकारखाना यहीं छन् । 

विशेषगरी बेलबारी नगरपालिका–९ पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको वेतना सिमसार कोशी प्रदेशकै चर्चित गन्तव्य हो । दुई प्रजातिको बेत वनस्पतिको जंगल नै रहेकोले यस क्षेत्रलाई बेतना सिमसार भनिएको हो । करिब ६५ बिगाहा क्षेत्रफल फैलिएको यहाँ साइबेरियादेखि चराहरू आउने गर्छन् । 

दुर्लभ चरा, कछुवा, माछा, जीवजन्तु, वनस्पति यस क्षेत्रमा पाइन्छ । त्यसबाहेक बेतनी सिमसार, हसिना सिमसार क्षेत्र पछिल्लो पटक  घुम्नका लागि गन्तव्य बन्न सक्छन् । वनजंगलको शित्तल छहारी अनि शान्त र मनोरम ठाउँ हो । बेतेनी ताल, रानीवन, बाघझोडा क्षेत्र पनि यहाँको घुम्नलायक स्थान हुन् ।

उदयपुरगढी र चौदण्डीगढी

उदयपुर देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वको ‘उदयपुर सिमेन्ट उद्योग’का कारण प्रख्यात छ । भित्री मधेस, चुरे र महाभारत क्षेत्रका कारण यहाँको प्राकृतिक सुन्दरता तारिफयोग्य छ । 

उदयपुरगढीलाई सरकारले घुम्न लायक १००औं पर्यटकीय गन्तव्यका रूपमा घोषणा गरिसकेकाले यसको महत्त्व अलग्गै छ । तत्कालीन उदयसेन राजाले राज गरेको यो गढीमा अहिले पनि पुरातात्विक महत्वका कारण चर्चित छ । धार्मिक आस्थाको केन्द्र बोकेको रौतापोखरी घुम्न लायक अर्को गन्तव्य हो ।

लिम्चुङबुङ गाउँपालिकामा रहेको एभरेस्ट भ्युटपले धेरैको मन खिचेको छ ।  नेपालकै प्रमुख ऐतिहासिक तथा पुरातात्तिवक स्थलमध्येको चौदण्डीगढी तत्कालीन सेन बंशीय राज्यको राजधानी रहेको स्थानमा छ । गाईघाटबाट २७ किलोमिटर पूर्वी पहाडी क्षेत्रमा पर्ने यहाँ घुम्नका लागि पर्यटकको भिड लाग्नेगर्छ । त्यसबाहेक माताप्ली पोखरी, झिल्केपोखरी, सुकेपोखरी, थाना पोखरी, भूतिया पोखरीलगायत ठाउँ उदयपुरमा घुम्नका लागि मुख्य गन्तव्य हुन् ।

भेडेटारदेखि हिलेसम्म

धनकुटामा प्रसस्त घुम्नलायक स्थान छ । पर्यटकीय गन्तव्यका रूपमा धेरैवटा स्थानले प्रख्याती कमाइसकेका छन् । पूर्वाञ्चल विकास क्षेत्र हुँदा सदरमुकाम रहेको धनकुटा बजार, भेडेटार, नाम्जे गाउँ, नमस्ते झरना, राजारानी पोखरी यहाँको चर्चित स्थान हुन् । 

साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार पूर्वी नेपालकै चर्चित गन्तव्य हो । छिन–छिनमा मौसम परिवर्तन भइरहने यो क्षेत्र नजिक रहेको भेडेटार नाम्जेको मगर गाउँलाई सिएनएनले विश्वका घुम्नैपर्ने १२औँ गन्तव्यको सूचीमा राखेको थियो । तराईको गर्मी छल्न र जाडोमा घाम ताप्न मिल्ने वातावरण रहेको चुरे पहाडमा अवस्थित भेडेटार आसपासबाट हिमाल, पहाड र तराईको दृश्य एकैसाथ हेर्न पाइन्छ । 

समुद्री सतहबाट एक हजार चार सय २० मिटरको उचाइ रहेको भेडेटार धार्मिक, सांंस्कृतिक, ऐतिहासिक र प्राकृतिक पर्यटकीय गन्तव्यका कारण भेडेटार क्षेत्रमा तरुण, ज्येष्ठ र केटाकेटीको घुइँचो लाग्ने गरेको छ ।

धरान बजारबाट १६ किलोमिटरको दूरीमा रहेको भेडेटार हुँदै हिलेसम्म पुगेर रमाइलो गर्न पाइन्छ । वर्षैभरि चिसो हावापानी रहने हिलेमा चिसोमा रमाउन चाहनेहरू यहाँ पुग्ने गर्छन । तोङवा र सुकुटीका परिकारका कारण यो प्रख्यात छ ।

टिएमजे

ताप्लेजुङ, संखुवासभा र तेह्रथुमको संगमस्थल तीनजुरे–मिल्के–जलजले (टिएमजे) नेपालकै ठूलो गुराँस वन क्षेत्र हो । तेह्रथुम यात्रामा निस्किदा टीएमजे पुग्नैपर्ने ठाउँ हो । राता, सेता, गुलावीलगायत मिश्रित गुराँसले जोकोहीको मन सुगन्धित बनाउँछ । 

माघदेखि जेठसम्म यहाँ गुराँस फुल्छ । यहाँ नेपालमा पाइने ३३ मध्ये यहाँ २८ प्रजातिका गुराँस पाइने अध्ययनहरूले देखाएको छ । धरानबाट ८७ किलोमिटर बसन्तपुर र बसन्तपुरदेखि पाँच किलोमिटर यात्रा गर्दा यहाँ पुगिन्छ । तेह्रथुममा नेपालकै अग्लो ह्यात्रुङ झरना, चिचिलिङ पोखरी, वसन्तपुर, सोल्मा चियाबगान, सिंहबाहिनी भगवती मन्दिर आदी घुम्न लायक स्थान हुन् ।

अरुण भ्याली

विश्वको पाँचौं अग्लो मकालु हिमालदेखि विश्वकै सबैभन्दा होचो अरुण उपत्यका (अरुण भ्याली) संखुवासभामै पर्छ । सभापोखरी, पाँच पोखरी, गुफापोखरी यहाँका घुम्न लायक स्थान हुन् । कोशेलीका रूपमा चैनपुरे करुवा चर्चित छ । विशेषगरी अरुण भ्याली पर्यटकको रोजाइको स्थान हो ।

जैविक विविधता, मनमोहक प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले यहाँको बेग्लै पहिचान झल्काउँछ । उपत्यकाको बीचबाट नागवेलीझैँ निरन्तर बगिरहने अरुण नदी उपत्यकाको अर्काे सौन्दर्य हो । 

सगरमाथा र मकालु पदमार्गको बीचमा पर्ने भएकाले पदयात्राको लागि पनि उत्तम मानिन्छ । रोचक कुरा चाहिँ के भने अरुण भ्यालीबाट विश्वकै गहिरो उपत्यकाबाट विश्वकै अग्लो शिखर सगरमाथा देख्न पाइन्छ । समुन्द्र सतहभन्दा ३६ सय मिटरसम्म गहिरो अनुमान गरिएको यहाँ पुग्न खाँदबारीबाट १३ किलोमिटर यात्रा गर्नुपर्छ । 

मुन्धुम ट्रेल

सरकारले एकसय उत्कृष्ट पर्यटकीय क्षेत्रमा रूपमा अटाएको मुन्धुम ट्रेल पदमार्ग भोजपुरको पहिचान हो । किराँती संस्कार, संस्कृति र जीवनशैलीमा आधारित ‘मुन्धुम’ शब्दलाई आधार मानेर पदयात्राको विकास गरिएको छ । खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभालाई आधार बनाएर ‘मुन्धुम ट्रेल’ पदमार्ग बनाइएको छ ।

१२ दिनको यात्रापछि भोजपुरको बागखोर सुन्तलेमा टुंगिने पदमार्ग पछिल्लो समय कोशीको भर्जिन ल्यान्डका रूपमा विकसित भएको छ । करिब १०७ किलोमिटरको पदमार्गबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, चोयुलगायत आठ हजार मिटर अग्ला ६ हिमाल देख्न सकिन्छ । त्यसबाहे दिङ्ला, नेपालेडाँडा, सोमबारे, साल्पा पोखरीलगायतका ठाउँ घुम्नका लागि प्रसिद्ध छन् ।

हलेसी

पूर्वको पशुपतिनाथ अर्थात धार्मिक पर्यटनको अब्बल गन्तव्य हो हलेसी महादेव । कोशी प्रदेशको चर्चित गन्तव्यका रूपमा विकसित हलेसी हिन्दु धर्ममा आस्था राख्नेहरूले यसलाई पशुपतिनाथको रूपमा, बौद्ध धर्मावलम्बीहरू दोस्रो लुम्बिनीको रूपमा र किरात धर्मावलम्बीहरूले आदिम भूमीको रूपमा पूजा–आजा गर्छन् । मन्दिर परिसरमा हलेसी, बसाहा र भैरव गरी तीनवटा गुफा छन् ।

मन्दिर दर्शन गरेमा दुःखबाट मुक्ति मिल्ने, निःसन्तानलाई सन्तान मिल्ने र पदन्नोति हुन्छ भन्ने विश्वास छ । काठमाडौंबाट हलेसी जाने दुई बाटा छन् । हेलिकोप्टर चार्टर्ड गरेर पनि यहाँ पुगिन्छ । हलेसी बाहेक बराह पोखरी, हलेसीमलाथुम्की, तुवाचुङ जायजुम, मुढे डाँडा, रूपाकोट डाँडा, मझुवागढी आदी घुम्न लायक स्थान छन् । 

पोकली झरना

ओखलढुंगामा अवस्थित देशकै दोस्रो अग्लो पोकली झरना कोशी प्रदेशको एक गन्तव्य हो । १३० मिटर उचाइको यो झरना समुद्री सतहदेखि करिब दुई हजार २०० मिटर उचाइमा छ । 

सरकारले सय गन्तव्यको सूचीमा समेटिएको यहाँ पुग्न सदरमुकामबाट १२ घन्टा पैदलयात्रा गर्नुपर्छ । सदरमुकाम जोड्ने कच्ची सडकको यात्रा बसमा करिब ६ घण्टा लाग्छ । त्यसबाहेक जिल्लामा सेलेले झरना रातमाले, ढिकुरे, सेप्ली आदी घुम्ने स्थान हुन् । गुरुङ समुदायको बाहुल्य रहेको रुम्जाटार अर्को पर्यटकीय गन्तव्य हो । 

हिमालै हिमालको सोलु

हिमालै हिमालको जिल्ला हो सोलुखुम्बु । आठ हजार आठ सय ४८ दशमलब ८६ मिटर रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाका कारण सोलुखुम्बु विश्वमा चर्चित छ । सगरमाथासहित ल्होत्से, चोयु, ग्याचुङगाङ, पुमोरी, आमादब्लम, पासाङल्हामूलगायतका अग्ला शिखर यसै जिल्लामा छन । नाम्चे बजार, संसारकै अग्लो स्थानमा रहेको ‘होटेल एभरेस्ट भ्यु’ यहाँको व्यस्त पर्यटकीय गन्तव्य हो । 

समुद्री सतहबाट चार हजार ६३२ मिटरको उचाइमा रहेको दूधकुण्ड, गंगा नदीको शिर मानिने साल्पापोखरी, पत्ताले डाँडा, सगरमाथा आधार क्षेत्र सोलुको चर्चित गन्तव्य हुन् । ‘एभरेष्ट दूधकोसी सांस्कृतिक पदमार्ग’ यहाँको नयाँ पदमार्ग हो । हर्कपुर, ओखलढुंगा हुँदै सडकबाट र तेञ्जिङ हिलारी विमानस्थल लुक्ला विमानस्थलमा ओर्लिएर पनि सोलु घुम्न सकिन्छ । 

तपाईको प्रतिक्रिया