इलाम — पछिल्लो समय इलाममा उत्पादित छुर्पीको माग उच्च हुँदै गएको छ। विशेषगरी कुकुरको खानाका रूपमा विदेश निर्यात हुने ‘डगच्यु’ छुर्पीको व्यापार पनि राम्रो रहेको व्यवसायीहरूले बताएका छन्।
इलामका गाउँगाउँमा खुलेका डेरी उद्योगहरूले किसानबाट दूध खरिद गरी त्यसबाट घिउ, छुर्पी, चिजलगायत विभिन्न दुग्धजन्य खाद्य परिकार उत्पादन गर्दै आएका छन्। दूधबाट उत्पादित वस्तुमध्ये छुर्पीको माग भने निकै राम्रो रहेको इलाम नगरपालिका–५ स्थित नवरत्न डेरीका व्यवस्थापक कुवेर फागोले बताए।
‘पहिलाभन्दा छुर्पीको माग धेरै छ। यहाँ दैनिक एक सय किलो छुर्पी उत्पादन हुन्छ, तर सुकाएर तयार पारेको छुर्पी यहाँ रहँदैन, निकासी भइहाल्छ,’ फागोले भने, ‘दैनिक तीन हजार लिटर दूध संकलन गरेर दुई हजार लिटर दूधबाट घिउ र छुर्पी बनाउने गरिएको छ। एक हजार लिटर दूध भने खुद्रा बिक्री र दही बनाउन प्रयोग हुन्छ।’
विशेषगरी अमेरिका निर्यात हुने छुर्पी गाउँगाउँबाट अन्य व्यापारीले खरिद गरेर लैजाने गरेको व्यवसायीहरू बताउँछन्। अहिले डेरीहरूले प्रतिकिलो एक हजार १५० देखि एक हजार २०० रुपैयाँसम्ममा छुर्पी बिक्री गर्ने गरेका छन्। यसरी खरिद गरिएको छुर्पीलाई व्यापारीहरूले थप सरसफाइ र प्याकेजिङ गरेर विदेश पठाउने गरेका छन्।
डेरी उद्योगहरूले गर्ने छुर्पी उत्पादनले गाउँमा धेरैलाई रोजगारीसमेत सिर्जना गरेको छ। पहिले दुग्ध विकास संस्थानले दूध खरिद गरेर विराटनगर लैजाने गरेपछि इलामका धेरै किसानले पशुपालनलाई आयआर्जनको माध्यम बनाएका थिए। पछिल्लो समय दुग्ध विकास संस्थानले इलाममा रहेका आफ्ना धेरै संकलन केन्द्र बन्द गराएपछि र किसानलाई दूधको भुक्तानी दिन ढिलाइ गर्न थालेपछि किसानहरूले डेरी उद्योगहरूलाई नै दूध बिक्री गर्न थालेका छन्। यसले गर्दा सडकको पहुँच सहज नभएका गाउँमा खुलेका डेरी उद्योगहरूले समेत छुर्पी उत्पादनलाई प्राथमिकता दिएका छन्।
दैनिक एक सय लिटर दूध संकलन गरेर घिउ र छुर्पी उत्पादन गर्दै आएका सन्दकपुर गाउँपालिका–२ का लिला दाहाल थोरै लगानीमा पनि डेरी व्यवसाय सञ्चालन गर्न सकिने बताउँछन्।
‘चार वर्ष भयो मैले डेरी सुरु गरेको। यो क्षेत्र दुर्गम भए पनि थोरैथोरै दूध संकलन हुन्छ। त्यसबाट उत्पादन भएको छुर्पीको बजार राम्रो छ,’ दाहालले भने, ‘थोरै लगानीमा यो व्यवसाय सुरु गर्दा पनि पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन।’
यस्तै, १६ वर्षअघिदेखि डेरी व्यवसाय सञ्चालन गर्दै आएका माइजोगमाई गाउँपालिका–३, नामसालिङका राजु घिमिरेले यस वर्ष प्रतिकिलो एक हजार २०० रुपैयाँका दरले छुर्पी बिक्री गरिरहेका छन्। मासिक एक हजार ८०० किलो छुर्पी उत्पादन गर्ने घिमिरेले माग बढी भए पनि गाउँमा दूध उत्पादन कम भएकाले मागअनुसार छुर्पी आपूर्ति गर्न नसकिएको बताए।
छुर्पीसँगै स्थानीय बजारमा बिक्री हुने घिउले पनि डेरी व्यवसायलाई राम्रो टेवा पुर्याएको छ। अहिले प्रतिकिलो सात सयदेखि आठ सय रुपैयाँसम्ममा बिक्री हुने घिउको माग पनि राम्रो रहेको घिमिरेले बताए।
दूधमा रहेको चिल्लो पदार्थको मात्रा जाँच गरेर खरिद गरिने दूधको गुणस्तरअनुसार डेरीहरूले प्रतिलिटर ४५ देखि ७० रुपैयाँसम्म मूल्य दिने गरेका छन्। तर, लगानी गरे पनि गाउँमा काम गर्ने जनशक्तिको अभाव हुँदा गाईपालन नै घट्न थालेको व्यवसायीहरूको भनाइ छ।
त्यसो त निर्यात हुने वस्तुमध्ये इलामबाट अलैँची र चियापछि छुर्पीको निर्यात पनि उल्लेख्य रहेको पाइन्छ। मेची भन्सार कार्यालय, काँकडभिट्टाको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०८२/०८३ मा मेची भन्सार हुँदै एक अर्ब ७९ करोड २८ लाख १८ हजार रुपैयाँ मूल्यको कुकुर तथा बिरालोको खाना अर्थात् छुर्पी निर्यात भएको छ। उक्त वर्ष १० लाख २५ हजार ५४१ किलो छुर्पी निर्यात भएको तथ्यांकमा उल्लेख छ।
कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष ०८१/०८२ मा एक अर्ब ४१ करोड ७१ लाख ४०० रुपैयाँ मूल्यको छुर्पी निर्यात भएको थियो। सो वर्ष आठ लाख १५ हजार ५०५ किलो छुर्पी निर्यात भएको तथ्यांकमा उल्लेख छ।
तपाईको प्रतिक्रिया