कागे फुटबल: इङ्ला वरियर्स र बौद्ध भेट्रान्स फाइनलमा
इलाम- सन्दकपुर गाउँपालिका–५, जमुनास्थित गजाधर धनमाया भट्टराई रंगशालामा जारी स्वर्गीय डम्बरकुमारी गुरुङ स्मृति कप तथा दोस्रो रनिङ कप कागे फुटबल प्रतियोगितामा इङ्ला वरियर्स र बौद्ध भेट्रान्स रानिटार फाइनलमा प्रवेश गरेका छन् ।
आज भएको भेट्रान्सतर्फको क्वार्टरफाइनल खेलमा इलाम यूके एफसी युकेले आरआरसी प्याङलाई १-० गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा स्थान सुरक्षित गरेको छ । पहिलो हाफमा कमल खवासले गरेको गोल नै निर्णायक बन्यो । आरआरसी प्याङले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पराजय बेहोरेको छ ।
त्यस्तै, खुला पुरुषतर्फको पहिलो सेमी फाइनल खेलमा इङ्ला वरियर्सले हेलिबोथ फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । फाइनल प्रवेशसँगै इङ्लाले कम्तीमा नगद ८१ हजार १११ सुरक्षित गरेको छ ।
आजै सम्पन्न भेट्रान्सतर्फको पहिलो सेमी फाइनल खेलमा बौद्ध भेट्रान्स रानिटार, पाँचथरले फेमेगुरु भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । पहिलो हाफको अन्तिम समयमा दिनेश गुरुङले गोल गर्दै बौद्धलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको अन्तिम समयमा पुनः दिनेशले नै गोल थप्दै टोलीको जित सुनिश्चित गरे । फाइनल प्रवेशसँगै बौद्धले कम्तीमा नगद रु. २५ हजार सुरक्षित गरेको छ ।
प्रतियोगिताअन्तर्गत भोलि खुला पुरुषतर्फको अन्तिम सेमी फाइनल खेलमा छिन्टापु स्पोर्टिङ क्लब र शनिश्चरे फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल प्रवेशका लागि हुने उक्त खेलसँगै भेट्रान्सतर्फ सन्दकपुर खेल संघ भेट्रान्स र इलाम यूके एफसी भेट्रान्सबीच पनि सेमी फाइनल भिडन्त हुनेछ ।
जमुना फुटबल क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा स्वर्गीय डम्बरकुमारी गुरुङको स्मृतिमा उहाँको परिवारले विजेता तथा उपविजेता टोलीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ । यस्तै, युके एफसी युकेले रनिङ सिल्ड प्रायोजन गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल कात्तिक २१ गते काग तिहारका दिन हुनेछ । खुला पुरुषतर्फको विजेता टोलीले नगद १ लाख ५१ हजार १ हजार ११ रुपैयाँसहित चाँदीको ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ८१ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।
त्यस्तै, भेट्रान्सतर्फको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित आकर्षक ट्रफी र उपविजेता टोलीले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
खेलाडीलाई सम्मान
आयोजक जमुना फुटबल क्लब र सन्दकपुर ५ जमुनाले नेपाली अन्डर १५ राष्ट्रिय टोलीका खेलाडी प्रनिश राईलाई सम्मानसमेत गरेका छन् ।
अजरबैजानमा केही दिनअघि सम्पन्न अन्डर १५ वल्र्ड कप तथा फुटबल फेस्टिबलमा नेपाललाई तेस्रो बनाएर फर्किएको नेपाली टोलीमा माइजोगमाई ५ का प्रनिश पनि सहभागी थिए ।
उनी घर आएका बेला आज गजाधर धनमाया भट्टराई रंगशालामा सम्मान गरिएको हो ।
तपाईको प्रतिक्रिया