इलाम- पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित रोङ गाउँपालिकाले करसोङ पदमार्ग सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ।
१९ किलोमिटर लामो करसोङ पदमार्गलाई थप व्यवस्थित तथा पदयात्राका लागि सहज बनाउने उद्देश्यले सरसफाइ अभियान आयोजना गरिएको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले जानकारी दिए। उनका अनुसार आगामी मंसिर २ गते सरसफाइ अभियान सञ्चालन गरिनेछ।
अभियानमा गाउँपालिकाका ५८ वटै टोल विकास समिति, जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सञ्चारकर्मी, छिमेकी सूर्योदय नगरपालिका र झापाको मेचीनगर नगरपालिकाका प्रतिनिधि तथा तारगाउँ, हर्कटे र निन्दा टोल विकास समितिका सदस्यहरू सहभागी हुनेछन्। साथै पर्यटन व्यवसायीहरूको पनि सहभागिता रहने अध्यक्ष स्याङ्बोले बताए।
करसोङ पदमार्गलाई व्यवस्थित, स्वच्छ र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
तपाईको प्रतिक्रिया