आज २२औँ राष्ट्रिय कफी दिवस मनाइँदै
कफीको निर्यातभन्दा आयात बढी
इलाम — आज २२औँ राष्ट्रिय कफी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। कफी उत्पादन तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष मङ्सिर १ गते राष्ट्रिय कफी दिवस मनाउने गरिन्छ। किसानको आयआर्जनको राम्रो माध्यम मानिएको कफीको निर्यातभन्दा आयात बढी रहेको तथ्याङ्कले देखाएको छ।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा १९ करोड ४७ लाख १७ हजार रुपैयाँ बराबरको २५९ मेट्रिक टन कफी आयात भएको छ। सोही अवधिमा नेपालबाट १४ करोड ४९ लाख ५७ हजार रुपैयाँ बराबरको ७१ मेट्रिक टन कफी निर्यात भएको छ।
अघिल्ला दुई आर्थिक वर्षको तथ्याङ्कले पनि नेपालमा कफीको निर्यातभन्दा आयात बढी रहेको देखाउँछ। आर्थिक वर्ष २०८१/८२ मा १४ करोड ४१ लाख रुपैयाँ बराबरको २०३ मेट्रिक टन कफी आयात भएको थियो भने सोही वर्ष ११ करोड ४३ लाख रुपैयाँ बराबरको ६३ मेट्रिक टन कफी निर्यात भएको थियो।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ४१ करोड ९८ लाख रुपैयाँ बराबरको ४४३ मेट्रिक टन कफी आयात भएको थियो भने १४ करोड ९२ लाख रुपैयाँ बराबरको ८८ मेट्रिक टन कफी निर्यात भएको थियो।
यसैबीच, राष्ट्रिय कफी दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ‘उत्पादनमा वृद्धि, गुणस्तरमा सुधार, नेपाली कफीको विश्व बजार विस्तार’ भन्ने नारासहित आज काठमाडौंको कीर्तिपुरमा कार्यक्रम आयोजना गरिरहेको छ।
बोर्डका अनुसार नेपालका विभिन्न ४५ जिल्लामा कफी खेती हुँदै आएको छ।
तपाईको प्रतिक्रिया