काठमाडौं– इजरायलबाट १९ नेपालीको पुनः उद्धार गरिएको छ । इजरायलको तेलअभिभबाट उनीरूलाई भारत नयाँ दिल्ली ल्याइएको हो ।
विद्रोही समूह हमासको आक्रमणपछि द्वन्द्वग्रस्त इजरायलमा असुरक्षित अनुभव भएपछि उनीहरूलाई स्वदेश ल्याउँदैगरेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भारत सरकारको उद्धार जहाजमा उनीहरूलाई ल्याइएको बताए । ‘स्वदेश फर्किन निवेदन दिएका १९ जनालाई फर्काइएको हो,’ उनले भने, ‘दिल्ली आइपुगेका नेपाली पश्चिम नेपाल हुँदै आ–आफ्नो गृहजिल्ला पुग्नेछन् ।’
इजरायलबाट तीन सयभन्दा बढी नेपाली स्वदेश फर्किन चाहेका छन् । इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका विद्यार्थी असुरक्षित भएपछि सरकारले शुक्रबार दुई सय ५४ जनालाई स्वदेश ल्याएको थियो ।
इजरायलमा मृत्यु भएका १० नेपालीमध्ये पाँच जनाको शव त्यहाँको सरकारले हस्तान्तरण गरेपनि अरूको बाँकी छ । एकजना अझै अज्ञात छन् ।
तपाईको प्रतिक्रिया