घुमफिर-पर्यटन

इलामको अन्तुमा पर्यटकको घुइँचो

Monday 10-27-25

इलाम– कात्तिक सुरु भएसँगै पर्यटकीय अन्तु आन्तरिक पर्यटकले भरिभराउ भएको छ । कतिपय बंगाली पर्यटक पनि अन्तुमा घुम्न आएका छन् ।
असोज, कात्तिक सूर्योदय दृश्यावलोकनका लागि उपयुक्त मौसम हो । सूर्याेदय हेर्न, अन्तुपोखरी र यहाँको सुन्दर चियाबारी घुम्न अहिले पर्यटकको धुइरो लागेको हो । 

अन्तुडाँडाबाट झुल्केघाम हेर्नमात्रै पनि दिनमा कम्तीमा २ हजार पर्यटक आइरहेको स्थानीय व्यवसायीले बताएका छन् ।

झिसमिसे उज्यालो नहुँदै अन्तुडाँडा पुुग्ने पर्यटकको संख्या नै राम्रो रहेको, चियाबारी, अन्तुपोखरी, चराचुरुङ्गीको दृश्यावलोकन, लोपोन्मोख लाप्चा समुदायको बसोबास रहेको ठाउँको भ्रमण, होमस्टेको अवलोकन तथा कृषिकर्म हेर्न पर्यटक आएको व्यवसायी रुद्र घिमिरेले जानकारी दिए ।

स्थानीय होटल र होमस्टेमा पर्यटक भरिभराउ छन् । तर, यहाँ आउने पर्यटकलाई अन्य घरमा समेत खानेबस्ने व्यवस्थापन मिलाइने उनको भनाइ छ । ‘पर्यटक धेरै हुँदा पनि यहाँ अभर पर्नुपर्दैन,’ अन्तु पर्यटन व्यवसायी संघ अध्यक्षसमेत रहेका घिमिरेले भने, ‘नजिकैका घरहरूमा पनि पर्यटकलाई राख्न सकिन्छ, व्यवस्थापन हुन्छ ।’ 

एक सातालाई यहाँका ठूला होटल, कटेज र होमस्टे प्रायः बुक भइसकेको उनले जनाए । ‘अहिले पर्यटक आएको संख्या कोभिडकालभन्दा पछिकै धेरै हो,’ उनले भने, ‘यो वर्ष फेसबुक, ट्विटर, वाट्सएपलगायत सामाजिक सञ्जालमा यहाँको सौन्दर्य देखेर आउने नयाँ पर्यटक पनि छन् ।’ घिमिरेका अनुसार यहाँ आएकामध्ये ३५ प्रतिशतजति भारतीय पर्यटक छन् ।’ नेपालका सबैजसो प्रदेशबाट पर्यटक घुम्न आएका छन् ।

झापाको काँकडभिट्टा हुँदै नेपाल भित्रिएका पर्यटक कन्याम, अन्तु घुम्दै पाथीभरादेवीको दर्शन गरेर पशुपतिनगर हुँदै पनि फर्किने गरेका छन् । ‘भारतीय चाहिँ विशेषगरी कन्याम, पाथीभरा घुमेर अन्तुमा बास बस्ने र पशुपतिनगर हुँदै फर्किने पर्यटक बढी छन्,’ घिमिरेले भने, ‘यो साल दसैं–तिहारको लामो बिदा रहेकाले पनि तिहार सकिनासाथ पर्यटकको संख्या बढेको हुनसक्छ ।’ घिमिरेका अनुसार यसपटक पारिवारिक रूपमा घुम्न आउनेको संख्या धेरै छ । 

स–साना होम स्टेदेखि ठूला होटलमा बास बस्नको फरक दररेट भएपनि अन्तुमा खानाको भने लगभग उस्तै दर छ । पर्यटकको रोजाइअनुसार १ रातको हजारदेखि चार हजार रुपैयाँसम्म कोठा पाइन्छन् । कोदो, फापर, आलु, चियालगायत स्वादअनुसार खाना पाइन्छ । 

सूर्योदय नगरपालिकाको फिक्कलनजिक छिपिटारबाट १३ किलोमिटर कालोपत्रे सडक पार गरेर अन्तु पुग्न सकिन्छ । संघका अनुसार यहाँ ६५ सामुदायिक होम स्टे र होटल तथा कटेज गरी ८३ वटा छन् । यसपटक पर्यटकको चाप बढेपछि करिब २० वटा नयाँ होमस्टे सञ्चालनमा आएका छन् । 

इलाम भित्रिने पर्यटक बढेसँगै सूर्योदय नगरपालिकाले पनि नयाँ गन्तव्यका लागि पहल गरिरहेको जनाएको छ । ‘सानो पाथीभरा, कन्याम, अन्तु, रेडपान्डा रहेको क्षेत्र थुम्के, गुफापातालमा, बुद्धपार्कलगायतका स्थान घुम्न आह्वान गरेका छौं,’ सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले भने, ‘असोजको विपदपछि बाटोघाटो पुलपुलेसा तत्काललाई मर्मत भएका छन्, इलाम घुम्न आउन समस्या छैन । समस्या परेमा नगरमा सम्पर्क भए सहजीकरण गर्न सकिनेछ ।’

तपाईको प्रतिक्रिया