माइजोगमाई (इलाम)– इलामको माइजोगमार्ई गाउँपालिका आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दैगएको छ ।
प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमालको नजिकको अनुभूति र स्थानीय संस्कृतिको संगमले यो क्षेत्र पर्यटकको मन जित्न सफल हुँदैछ ।
माइबेनी, काली ओडार, साततले छाँगो, उत्तरे पोखरी, मलुपोखरी, साङछोलिङ गुम्बा, थुम्केरानी, जौवारी, मेघमा, तुम्लिङ र गुराँसेजस्ता क्षेत्र माइजोगमार्ईका प्रमुख पर्यटकीय गन्तव्य हुन् । तीमध्ये पनि पछिल्लो समय उत्तरे पोखरी, साङछोलिङ गुम्बा, थुम्केरानी, जौबारी, मेघमा र तुम्लिङ क्षेत्रमा पर्यटकको चहलपहल उल्लेख्य देखिन्छ ।
समुद्री सतहबाट करिब तीन हजार मिटर उचाइसम्म फैलिएको यो क्षेत्रबाट नेपाल र भारतका फराकिला भू–भाग देख्न सकिन्छ । मौसम खुलेको दिन विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा र कुम्भकर्ण हिमालका मनोरम दृश्यहरू आँखैअगाडि देखिन्छन् । यही दृश्यले माइजोगमार्ईलाई ‘हिमाल नजिकैबाट हेर्ने गन्तव्य’का रूपमा चिनाउँदैछ ।
यो क्षेत्र विश्वबाट लोपोन्मुख रेडपान्डा (हाब्रे) को बासस्थानसमेत हो । संरक्षित क्षेत्र भएकाले यहाँ रेडपान्डासँगै दुर्लभ चराचुरुङ्गी, गिद्ध र ध्वाँसे चितुवासमेत देख्न सकिन्छ । वन्यजन्तु अवलोकन तथा फोटोग्राफीका लागि आउने पर्यटकका लागि माइजोगमार्ई नयाँ गन्तव्य बन्दैगएको छ ।
सूर्योदय र सूर्यास्तको अद्भुत दृश्य देखिने थुम्केरानी क्षेत्रमा होमस्टे सञ्चालनमा आएपछि पर्यटक आगमन अझ बढेको छ । झापा, मोरङ र इलामका विभिन्न स्थानबाट बास बसेर सूर्योदय हेर्न आउनेको संख्या बढ्दो छ । सूर्यास्त र सूर्योदयको दृश्य अवलोकन गर्न आएका झापाका योगेन्द्र लिम्बू भन्छन्, ‘प्राकृतिक दृश्यले मन नै लोभ्यायो, यहाँको शान्त वातावरण फरक अनुभूति दिन्छ ।’
तराईबाट हिउँ खेल्न सबैभन्दा नजिकको गन्तव्य जौबारी भएकाले हिउँद याममा यहाँ विशेष चहलपहल देखिन्छ । शेर्पा समुदायको बाहुल्य बस्ती, स्थानीय परिकार र आत्मीय आतिथ्यले पर्यटकलाई पुनः आउन बाध्य बनाउँछ । मंसिरपछि हिउँसँगै र चैत–वैशाखमा गुराँस फुल्दा घुमफिर र ट्रेकिङका लागि पर्यटक आउने गर्छन् । भारत, बंगलादेश लगायतका देशका पर्यटकसमेत यहाँ सहजै भेटिन्छन् ।
छिमेकी देश भारतको राष्ट्रिय निकुञ्जसँग जोडिएको यो क्षेत्र सन्दकपुरसम्मको ट्रेकिङ मार्गका रूपमा पनि चर्चित छ । सोही मार्ग हुँदै ट्रेकिङमा रमाउने पर्यटकको संख्या पनि दिनानुदिन बढ्दो छ । सुविधा सम्पन्न होमस्टे र होटल सञ्चालनमा आएपछि बसाइ लम्ब्याएर रमाउने पर्यटकको रोजाइमा माइजोगमार्ई परेको छ ।
पहिलो पटक परिवारसहित घुम्न आएका बिर्तामोडका प्रवीण धिमाल भन्छन्, ‘यहाँको दृश्य साँच्चै सुन्दर रहेछ । परिवारसँग घुम्नका लागि माइजोगमार्ई उत्कृष्ट गन्तव्य लाग्यो ।’
ढुंगामा कुँदिएका प्राचीन लिपिहरूलाई गाउँपालिकाले संरक्षण र रंगरोगन गरेर आकर्षक बनाएपछि ती स्थानमा फोटो खिच्ने, टिकटक बनाउने र भ्लग तयार गर्ने युवाको घुइँचो लाग्ने गरेको छ । नेपाल–भारत सीमा क्षेत्रमा रहे पनि होटल तथा होमस्टे नेपालतर्फ मात्र सञ्चालनमा रहेकाले स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव परेको होटल सञ्चालक सोनाम लामाले बताए ।
बाटोको पहुँच सहज बन्दै गएपछि बाइक, सवारी साधन तथा भारततर्फको मार्ग प्रयोग गरेर पनि आन्तरिक तथा बाह्य पर्यटक माइजोगमार्ई आउने गरेको गाउँपालिका उपाध्यक्ष प्रविना राई बताउँछिन् । यद्यपि वार्षिक कति पर्यटक माइजोगमार्ई भित्रिन्छन् भन्ने तथ्याङ्क भने गाउँपालिकासँग नरहेको उनको भनाइ छ ।
पर्यटनसम्बन्धी बहुवर्षीय कार्ययोजना बनाएर व्यवस्थित रूपमा अघि बढ्नसके स्थानीयस्तरमै रोजगारी सिर्जना हुने र गाउँपालिकाको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ । प्राकृतिक वरदानलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न सके माइजोगमार्ई पूर्वी नेपालको प्रमुख पर्यटकीय केन्द्र बन्न सक्ने सम्भावना प्रबल छ ।
.jpg)
तपाईको प्रतिक्रिया