पूजाको मन्त्रदेखि कम्प्युटर विज्ञानसम्मः संस्कृतको आधुनिक सान्दर्भिकता
हामीमध्ये धेरैको बुझाइमा संस्कृत भाषा केवल मन्दिरमा पूजापाठ गर्दा वा कर्मकाण्डमा प्रयोग हुने ‘पुरानो’ र ‘कठिन’ भाषा हो । कतिपयले यसलाई ‘मृत भाषा’ मान्छन् । तर, २१औँ शताब्दीको सूचना प्रविधि र भाषा विज्ञानको कसीमा राखेर हेर्दा संस्कृतको महत्त्व फेरि एकपटक उजागर भएको छ । पश्चिमा विश्वविद्यालय र शोधकर्ताहरूले यसलाई केवल धर्मको भाषा नभई एक ‘अत्यन्त व्यवस्थित र नियमबद्ध संरचना’ भएको भाषाका रूपमा विश्लेषण गर्न थालेका छन् ।
पाणिनि, कोडिङ र ‘नासा’को त्यो अनुसन्धान
संस्कृत र कम्प्युटर विज्ञानबीचको चर्चा सन् १९८५ मा तब चुलियो, जब नासाका अनुसन्धानकर्ता रिक ब्रिग्सले ‘नलेज रिप्रिजेन्टेसन इन संस्कृत एन्ड आर्टिफिसियल इन्टेलिजेन्स’ शीर्षकमा एक लेख प्रकाशित गरे ।
बजारमा चलेको हल्लाजस्तो नासाले अन्तरिक्ष यान चलाउन संस्कृत प्रयोग गरिरहेको त छैन । तर, ब्रिग्सको त्यो अनुसन्धानको सार गहिरो थियो । उनले महर्षि पाणिनिको व्याकरण (अष्टाध्यायी)लाई ‘प्राकृतिक भाषाहरूमध्ये सबैभन्दा स्पष्ट र तार्किक’ मानेका थिए । अंग्रेजी वा नेपालीमा एउटै शब्दको अर्थ सन्दर्भ अनुसार बदलिन्छ (जस्तैः ‘तार्नु’ भन्नाले खोला तार्नु वा तरकारी तार्नु), जसले कम्प्युटरलाई अलमलमा पार्छ । तर, संस्कृत व्याकरण यति गणितीय छ कि, यसले ‘कृत्रिम बुद्धिमत्ता’ (एआई)लाई भाषा बुझाउन चाहिने ‘नलेज रिप्रिजेन्टेसन’का लागि उत्कृष्ट मोडल प्रदान गर्न सक्छ । आजको नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङको विकासमा पाणिनिको त्यो नियमबद्ध प्रणाली एउटा बलियो शैक्षिक आधार बनेको छ ।
‘द संस्कृत इफेक्ट’ : स्मरण शक्तिको विज्ञान
के संस्कृतका श्लोकहरू पढ्दा दिमागमा परिवर्तन आउँछ ? न्युरो–वैज्ञानिक जेम्स हार्टजेलको टोलीले गरेको एक एमआरआई अध्ययनले यसमा रोचक नतिजा देखाएको छ, जसलाई ‘द संस्कृत इफेक्ट’ भनिन्छ ।
उक्त अध्ययनमा परम्परागत रूपमा संस्कृतका हजारौं श्लोक कण्ठ गर्ने पण्डितहरूको दिमागको ‘हिप्पोक्याम्पस’ र ‘ग्रे म्याटर’ सामान्य मानिसको तुलनामा ठूलो र घनत्व बढी भएको पाइयो । वैज्ञानिकहरूका अनुसार, यो संस्कृत भाषाको मात्र जादु नभई, यसको ‘श्रुति परम्परा’ (सुन्ने र कण्ठ गर्ने कठोर अभ्यास)को नतिजा हो । संस्कृत उच्चारणमा जिब्रोका विभिन्न भागको प्रयोग र श्लोक कण्ठ गर्ने लामो अभ्यासले दिमागको लागि ‘जिम’को काम गर्छ । यसले के पुष्टि गर्छ भने हाम्रो परम्परागत ‘घोकन्ते विद्या’लाई पूरै खारेज गर्नुको साटो, त्यसलाई बुझाइसँग जोड्नसके यसले बालबालिकाको एकाग्रता र स्मरण शक्ति बढाउन ठूलो मद्दत गर्छ ।
नेपालका लागि अवसरः भावना मात्र होइन, अब विज्ञान खोजौँ
नेपाल संस्कृत पाण्डुलिपिहरूको एक विशाल भण्डार र संरक्षणस्थल हो । हाम्रा अभिलेखालय र गुम्बाहरूमा हजारौं पुराना ग्रन्थहरू छन्, जसमा केवल पूजाविधि मात्र छैन; तिनमा प्राचीन गणित, खगोलशास्त्र, र आयुर्वेदको ज्ञान सुरक्षित छ ।
अब हामीले संस्कृतलाई भावनामा मात्र सीमित नराखी यसबाट ठोस लाभ लिन सक्नुपर्छ–
१. अनुसन्धान केन्द्रः हाम्रा विश्वविद्यालयहरूले संस्कृतलाई आधुनिक ‘कम्प्युटेसनल लिङ्ग्विस्टिक्स’सँग जोडेर अनुसन्धान गर्न सके नेपाल भाषा–प्रविधिको हब बन्न सक्छ ।
२. बौद्धिक पर्यटनः विश्वभर योग र ध्यानको आकर्षण बढ्दो छ । पश्चिमाहरू ’माइन्डफुलनेस’का लागि पूर्वतिर हेर्दैछन् । नेपालले आफूलाई ‘योग र संस्कृतको प्रामाणिक स्रोत’ का रूपमा ब्रान्डिङ गरेर विशिष्ट श्रेणीका पर्यटक ल्याउन सकिन्छ ।
संस्कृतलाई जोगाउनु भनेको केवल कर्मकाण्ड धान्नु होइन । यो मानव सभ्यताले विकास गरेको एक उत्कृष्ट ‘सिस्टम’ हो। जब आधुनिक विज्ञानले हाम्रा पुर्खाहरूको यो ज्ञान पद्धति र स्मरण विधिको प्रशंसा गरिरहेको छ भने, हामी आफैंले चाहिँ यसलाई ‘पाखे’ वा ‘काम नलाग्ने’ भन्नु अज्ञानता हुन जान्छ । यसलाई अन्धभक्तिले होइन, वैज्ञानिक चेतका साथ अध्ययन गर्नु आजको आवश्यकता हो ।
तपाईको प्रतिक्रिया