कला-साहित्य

‘बानी बेच्ने केटा’ मञ्चन

आइतबार माघ ११, २०८२/ Sunday 01-25-26

चुलाचुली (इलाम)– इलामको चुलाचुली २ स्थित अमृत बोर्डिङका विद्यार्थीले सरस्वती पूजामा नाटक ‘बानी बेच्ने केटा’ मञ्चन गरेका छन् । विद्यार्थीलाई लक्षित गरी बनाइएको नाटकमा चुलाचुली रंगमञ्चले सहकार्य गरेको थियो ।

एउटै कक्षा कोठामा पढ्ने ६ जना फरक क्षमता भएका किशोरमा हुने राम्रो र नराम्रो बानीबीचको सिर्जनशील द्वन्द्वलाई नाटकले प्रस्ट पारेको थियो । प्रविधिलाई  सही रूपमा प्रयोग गर्नसके त्यसले आफ्नो सिर्जनशील बानीले सफल र सम्मानित हुन सकिन्छ भन्ने कथाको मुख्य भाव थियो । 

नाटकलाई लेखन तथा निर्देशन चेतन आङ्थुपोले गरेका थिए भने कला व्यवस्थापकका रूपमा मानाहाङ लावती थिए । करिब ४० मिनेट मञ्चन समय रहेको नाटकमा शिखा लिम्बू, लक्ष्यदीप लिम्बू, प्रिन्स तामाङ्ग, ज्योति माझी, सञ्जय कटुवाल, मिङसो ओ, रेवन देवान र असिम लिम्बूको अभिनय थियो । 

त्यस्तै प्रत्यक्ष संगीततर्फ दिपेश मगर, समुएल राई, प्रप्स डिजाइनमा मनकुमार योङ्हाङ, स्केचमा आयुसा आङथुपो, सगुन पोख्रेल, मञ्च निर्माण केशर ओजी, प्रकाश परिचालन रोसन मुर्मु थिए । नाटकको व्यवस्थापन विद्यालयका प्रअ सन्तोष बाहिङ राईले गरेका थिए । योसँगै विद्यालयले विद्यार्थीको व्यक्तिगत क्षमता विकासका लागि विभिन्न विधाका सिर्जनशील कलाका सीपहरूको थप कक्षासमेत सञ्चालन गर्दैआएको छ, जस्तै, खेलकुद, नाटक, नृत्य, संगीतलगायत । 

नाटकसँगै विद्यालयले अन्य ४ कार्यक्रम गरेको थियो । नाटकसँगै स्केच प्रतियोगिताको फाइनल, सांगीतिक कार्यक्रम, नृत्य, अक्षरारम्भ सरस्वती पूजा विशेष कार्यक्रम गरेको थियो ।

तपाईको प्रतिक्रिया