इलाम- भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीका लागि फाकफोकथुम गाउँपालिकाले काम सुरु गरेको छ । यसअघि संकलित करिब ५ सय फाराम कम्प्युटरमा इन्ट्री गरी काम थालिएको हो ।
यही माघ मसान्तसम्ममा विवरण इन्ट्री गरी भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममा पठाइसक्नुपर्ने भएपछि गाउँपालिकाले कर्मचारी परिचालन गरी काम तीव्र बनाएको गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले बताए ।
७ वटै वडाबाट यसअघि नै संकलन भएका पाँच सयभन्दा बढी फाराम भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासी गरी तीन तहमा विभाजन गरिएको छ । वडा–वडाबाट संकलित फाराम रुजु गरी धमाधम कम्प्युटरमा प्रविष्टि गर्ने काम भइरहेको अध्यक्ष खनालले जानकारी दिए ।
माघ मसान्त सम्ममा कम्प्युटरमा प्रविष्टि गरी त्यसका विभिन्न चरण पार गरेर आयोगले ४ चरणको प्रक्रिया पूरा गरेपछि मात्र वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई धनीपूर्जा वितरणको तहमा पुगिने आयोगका जिल्ला अध्यक्ष प्रकाश अधिकारीले बताए । ‘तथ्याङक कम्प्युटरमा प्रविष्ट गरेको करिब ४२ दिनपछि मात्र धनीपूर्जा वितरणमा पुगिन्छ, त्यो बीचमा आयोग, गाउँपालिकालगायत निकायले विभिन्न चरण पूरा गर्नुपर्ने हुन्छ,’ अधिकारी भन्छन् ।
प्रविष्टि कार्यमा गाउँपालिकाका ८ कर्मचारी, २ जना आयोगबाट खटिने कर्मचारी छन् भने प्रविष्टि कार्य सहज बनाउन आयोगका १ सहजकर्तासमेत सहभागी छन् ।
तपाईको प्रतिक्रिया