राजनीति

इलाममा शान्तिपूर्ण रूपमा मतदान जारी

बिहीबार फाल्गुण २१, २०८२/ Thursday 03-05-26

इलाम- इलामका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । 

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले रोङ गाउँपालिकास्थित प्युरेको मतदान केन्द्रमा ज्येष्ठ नागरिकबाट सुरु गर्नलाई केही ढिलो भएपनि अरू मतदान केन्द्रमा समयमै मतदान सुरु भएको बताए । 

पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको सूर्याेदय नगरपालिका ९ को राष्ट्रिय आधारभूत विद्यालयबाट मतदान गरेका छन् । इलाम क्षेत्र २ का नेकपा एमाले उम्मेदवार सुहाङ नेम्बाङले इलाम नगरपालिका ७, मरब क्याम्पस केन्द्रमा मतदान गरे । यही क्षेत्रका नेपाली कांग्रेस उम्मेदवार भेषराज आचार्यले इलाम नगरपालिका ११, सोयाकको महेश्वरा आधारभूत विद्यालय केन्द्रमा मतदान गरेका छन् । 

इलाम क्षेत्र १ का कांग्रेस उम्मेदवार निस्कल राईले सूर्याेदय ४ को जनक मावि केन्द्रमा र एमाले उम्मेदवार काजीमान कागतेले सूर्योदय ८ को सिद्धि आवि केन्द्रबाट मतदान गरेका छन् । 

मतदानमा ज्येष्ठ नागरिकसमेत उत्साहपूर्ण रूपमा सहभागी भइरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

इलाममा कुल  २ लाख ३१ हजार ८ सय ९ मतदाता छन् । यसमध्ये महिला १ लाख १२ हजार १ सय ५८, पुरुष १ लाख १९ हजार ६ सय ४८ र अन्य ३ छन् । निर्वाचन क्षेत्र १ मा १ लाख १२ हजार ३ सय २० र क्षेत्र २ मा १ लाख १९ हजार ४ सय ८९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । इलाममा १ सय मतदानस्थल र २ सय ९२ मतदान केन्द्र छन् । 

तपाईको प्रतिक्रिया