इलाम- इलाम क्षेत्र २ को मतगणना भर्खरै सुरु भएको छ । बिहान सर्वदलीय बैठक सकिएपछि सवा १ बजे मतगणना सुरु भएको हो ।
क्षेत्र २ को मतगणना इलाम सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा भइरहेको छ । चुलाचुली गाउँपालिका वडा ६ का ४ मतदान केन्द्रको पहिलो हुने निर्वाचित हुने प्रणालीको गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए । इलाम क्षेत्र २ मा १ लाख १९ हजार ४ सय ८९ मतदाता रहेकामा ६७ हजार ६ सय ४८ मत खसेको छ ।
इलाम क्षेत्र २ मा नेकपा (एमाले)बाट सुहाङ नेम्बाङ, नेपाली कांग्रेसबाट भेषराज आचार्य, नेपाली कम्युनिस्ट पार्टीबाट ओमबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोकुल राईलगायत क्षेत्र दलका १३ सहित १ स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।
इलामका कुल २ सय ९२ मतदान केन्द्रमा २ लाख ३१ हजार ८ सय ९ मतदाता रहेकामा ५६.५५ प्रतिशत अर्थात्, १ लाख ३१ हजार ३ सय ४४ मत खसेको छ । इलाम नगरपालिकाका १२ वटा वडामध्ये १० बाहेक सबै, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाका वडा ६, ७ तथा ८ नम्बर वडा निर्वाचन क्षेत्र २ मा छन् ।
इलाम २ मा २०८१ वैशाखमा भएको उपनिर्वाचनमा एमालेका सुहाङ विजयी बनेका थिए । कांग्रेसका डम्बर खड्का निकटतम् प्रतिद्वन्द्वी थिए ।
इलाम क्षेत्र १ मा पौने २ बजेसम्ममा मतगणना सुरु गर्ने तयारी गरिएको छ । भर्खरै सकिएको सर्वदलीय बैठकमा मतगणना सुरु गर्ने गर्ने सहमति जुटेको हो । सूर्याेदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा यो क्षेत्रको मतगणना हुनेछ । क्षेत्र १ लाख १२ हजार ३ सय २० मतदाता रहेकामा ६३ हजार ६ सय ९५ मत खसेको छ ।
क्षेत्र १ मा एमालेका काजीमान कागते, कांगे्रसका निस्कल राई, नेकपाका रणबहादुर राई, रास्वपाका विमल गदाललगायत १३ दलका उम्मेदवार चुनावी मैदानमा छन् । यो क्षेत्रमा सूर्याेदय नगरपालिका, माई नगरका १० वटा वडामध्ये ६, ७ र ८ बाहेक सबै, रोङ गाउँपालिका, सन्दकपुर गाउँपालिका र माइजोगमाई गाउँपालिका छन् ।
२०७९ सालको निर्वाचनमा इलाम १ मा एमालेका महेश बस्नेत विजयी बनेका थिए भने तत्कालीन नेकपा (एस)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित थिए ।
तपाईको प्रतिक्रिया