घुमफिर-पर्यटन

चुरे पदयात्राको अवसर बन्दै तीनकुने पर्यटन महोत्सव

Monday 04-06-26

चुलाचुली (इलाम) - इलामको दक्षिणी चुलाचुली गाउँपालिका हरेक वर्ष महोत्सवमय बनिरहेको छ । 

कलाको उर्वर भूमि मानिने यस पालिकामा कहिले नाट्य महोत्सव, कहिले धार्मिक तथा संस्कृतिक महोत्सव हुने गरेपनि यस पटक भने ‘चुलाचुलीको पहिचान, पर्यटनको अभियान’ नारासाथ तीनकुने पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको हो । 

चुलाचुली–२ स्थित मोरङ्गे झोडा तीनकुने पोखरीको खुला मैदानमा सात दिन सञ्चालन हुने महोत्सवको यही चैत २५मा उद्घाटन र नयाँवर्ष अर्थात् वैशाख १ मा समापन हुने कार्यक्रम संयोजक नगीन्द्र श्रेष्ठले बताए ।

आन्तरिक पर्यटकलाई स्थानीय कला, संस्कृति, हस्तकला सीप, स्थानीय उत्पादन, रैथाने खानपान र प्राकृतिक पर्यटनको पहिचान गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

‘स्थानीय पर्यटन क्षेत्रको रैथानै उत्पादन विशेषतालाई व्यवसाय तथा अर्थतन्त्रसँग जोड्न, युवालाई रोजगारीका अवसर सिर्जना गर्न आन्तरिक पर्यटक आकर्षण तथा गन्तव्य बनाउन महोत्सव प्रचारप्रसारको राम्रो माध्यम बन्नेछ,’ उनले भने ।

महोत्सवअन्तर्गत विभिन्न मनोरञ्जनात्मक खेल, साकेला, केलाङ, लाखेनाच, च्याब्रुङ नाच, झाँकीलगायत प्रदर्शन गरिने भएको छ । महोत्सवमा कलाकार राजेशपायल राई, शैल लिम्बू, पूजा लामा, पदम राई र एलिना चौहानलगायतको प्रस्तुति रहने आयोजकको भनाइ छ । 

तीनकुने महोत्सवमा मेला हेर्न आउनेलाई २ किलोमिटरमा पर्ने चुरे पदयात्रा, तीनकुने पोखरी परिक्रमा, धार्मिक तथा प्राकृतिक सम्पदा अवलोकनसमेत गराइने आयोजक समिति सचिव सेमन्ता खनालले बताइन् । 

महोत्सवमा करिब १८ लाख रुपैयाँ आय–व्यय हुने र ७ हजार हाराहारीले महोत्सव अवलोकन गर्ने अनुमान छ । 

तीनकुने पोखरी सिमसारको के हो त ?

चुलाचुली गाउँपालिकाको पहिलो ‘पर्यटन क्षेत्र’ घोषित ठाउँ हो–तीनकुने पोखरी सिमसार क्षेत्र ।

वडा २ को मोरङ्गेझोडाको सामुदायिक वनमा करिब ६ बिघामा फैलिएको तीनकुने सिमसार क्षेत्र पर्यावरण र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ । 

२०५२ सालतिर स्थानीय अगुवाले गहिरो खोल्सीलाई बाँध कसेर पानी सञ्चित गर्ने प्रक्रिया सुरु गरे । स्थानीयले सिँचाइका लागि बनाएको पोखरीलाई इलाम जिल्ला प्रशासनमा दर्ता नियमावली २०३४ को नियम ४ बमोजिम २०७२ चैत २ मा तीनकुने पोखरी सिमसार क्षेत्र’ बनाइएको हो । 

पोखरीको संरचनालाई थप परिमार्जन गरी पर्यटकीय आकर्षणस्थलका रूपमा विकास गरिएको छ । चुरे पर्वतको फेदीमा रहेको पोखरी क्षेत्र जैविक विविधता तथा पर्यटकीय महत्त्वको छ । 

आसपासमा विभिन्न जातजातिको बसोबास छ । राष्ट्रिय सिमसार नीति २०५९ अनुसार सिमसार भन्नाले जलस्रोत वा वर्षाका कारण पानीको परिमाण रहिरहने, प्राकृतिक वा मानव निर्मित स्थायी वा अस्थायी जमेको वा बगेको ताल, पोखरी जलयकार क्षेत्र वा कृषिजमिनसमेत जनाउँछ । 

तीनकुने पोखरी कहाँबाट पुगन्छ ?

समुन्द्री सतहबाट करिब १ सय ८५ मिटर उचाईमा रहेको तीनकुने पोखरी पूर्व–पश्चिम राजमार्गबाट उत्तरतर्फ करिब साढे ५ किलोमिटरमा छ । झापाको केर्खा बजार, पाडाजुङ्गीबाट उत्तर नर्सरी ग्राभेल बाटो मोटरसाइकल, सफारी, अट्टो र साना, ठूला सवारी साधनमा कालोपत्रे सडकबाट सजिलै यहाँ पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया