पालिका

गाउँपालिकाले दिने सेवा वडा–वडामै पाइने !

सोमबार बैशाख २१, २०८३/ Monday 05-04-26

इलाम- इलामको फाकफोकथुम गाउँपालिकाले गाउँपालिकाको केन्द्रबाट दिइने सेवा वडाबाटै दिने तयारी गरेको छ । गाउँपालिकाले सबै वडामा एकीकृत घुम्ती शिविर आयोजना गरी पालिका केन्द्रको सेवा वडामै लैजाने तयारी गरेको हो । 

गाउँपालिकाले वडा १ र २ मा वैशाख २१, वडा ६ र ७ मा वैशाख २२ तथा वडा ४ र ५ मा २४ गते घुम्ती शिविर सञ्चालन गर्दैछ । पालिका अध्यक्ष दीपेन्द्र खनालले नागरिकलाई घर–आँगनमै सेवा दिने प्रयासस्वरूप पालिकाले घुम्ती शिविर आयोजना गरेको बताए । ‘नागरिकलाई केही दिनमात्रै भएपनि वडामा पालिकाको सेवा दिँदा लामो समयदेखि गाउँपालिकाको केन्द्र आउन नसकेर अड्किएका काम गर्न सजिलो हुन्छ,’ उनले भने, ‘त्यतिमात्र होइन, अब गर्नुपर्ने काम पनि एकै दिन वडाबाट पाउन सजिलो हुन्छ ।’

एकीकृत घुम्ती शिविरमा योजना शाखाअन्तर्गत योजना सम्झौता र उपभोक्ता समिति अभिमुखीकरण, पशुपन्छी सेवा शाखाअन्तर्गत परजीवी नियन्त्रण÷औषधि वितरण, फार्म दर्ता तथा नवीकरण, पशु बन्ध्याकरण सेवा दिइनेछ । कृषि विकास शाखाअन्तर्गत आकस्मिक बाली संरक्षण÷औषधि, फर्म दर्ता नवीकरण र किसान सूचीकरण गरिनेछ भने पञ्जीकरण शाखाको बायोमेट्रिक भेरिफिकेसन सेवा पनि दिइनेछ ।

महिला, बालबालिका तथा सामाजिक सुरक्षा शाखाले दिने सेवाहरू ज्येष्ठ नागरिक र अपांगता परिचयपत्र वितरण, रोजगार सेवा शाखाका पुनः श्रम स्वीकृति, रोजगारी सिर्जनासम्बन्धी उपभोक्ता समिति अभिमुखीकरण र प्रशासन शाखाअन्तर्गत व्यवसाय÷पसल÷होटललगायत दर्ता तथा नवीकरण (उद्योगबाहेक) सेवासमेत दिइने प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए । 

‘गाउँपालिकाले दिने सेवा कम्तीमा एक दिन भएपनि वडाबाटै लिनुहुन सबै सेवाग्राहीमा अनुरोध पनि गरेका छौं,’ तुम्रोकले भने, ‘पालिकाको सेवा प्रभावकारी बनाउन वडा–वडामा घुम्ती शिविर आयोजना गरिएको हो ।’

गाउँपालिकाले ‘कृषि, पशु, पर्यटन र रोजगार–समृद्ध फाकफोकथुमको आधार’लाई नारा बनाएको छ । यसै लक्ष्यअनुसार पालिकाले गतिविधि अघि बढाएको उपाध्यक्ष कल्पना राईले जानकारी दिइन् । 

यस्तो छ वडामा आयोजना गरिने शिविरमा दिइने सेवाको सूची-

तपाईको प्रतिक्रिया