पालिका

इलाम नपाको २ नम्बर वडा कार्यालयमा डिजिटल बोर्ड

शनिबार जेठ २, २०८३/ Saturday 05-16-26

इलाम- इलाम नगरपालिका २, सुम्बेकले सूचना प्रविधिको प्रयोगलाई गाउँस्तरसम्म विस्तार गर्ने उद्देश्यसहित वडा कार्यालयमा डिजिटल बोर्ड सञ्चालनमा ल्याएको छ । पछिल्लो समय स्थानीय तहमा प्रविधिमार्फत् सेवाप्रवाह प्रभावकारी बनाउने प्रयास भइरहेका बेला यो वडाले पनि डिजिटल माध्यमलाई प्राथमिकता दिएको हो ।

वडा कार्यालय परिसरमा जडान गरिएको डिजिटल बोर्डमार्फत् वडा कार्यालयका सूचना, योजना, कार्यक्रम, सार्वजनिक जानकारी, सामाजिक गतिविधि तथा विभिन्न सेवासम्बन्धी विवरण नागरिकले सहज रूपमा प्राप्त गर्न सक्नेछन् । विशेषगरी सूचना समयमै नपुग्ने समस्या कम गर्न र नागरिकलाई वडा कार्यालयका गतिविधिसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले यो व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष गिरिराज रिजालले नागरिकलाई सूचनाको पहुँचबाट टाढा राख्न नहुने भन्दै अहिलेको समय प्रविधिसँगै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनका अनुसार गाउँ–गाउँमा प्रविधिमैत्री वातावरण निर्माण गर्ने लक्ष्यसहित डिजिटल बोर्ड सञ्चालनमा ल्याइएको हो ।

‘नागरिकले वडा कार्यालयका सूचना थाहा नपाएर पछि पर्ने अवस्था अन्त्य गर्न खोजेका हौँ । सूचना सबैको पहुँचमा पुग्नुपर्छ भन्ने उद्देश्यले डिजिटल बोर्ड राखिएको हो,’ वडाध्यक्ष रिजालले बताए । 

उनले आगामी दिनमा पनि वडाबाट प्रदान हुने सेवाहरूलाई थप प्रविधिमैत्री र सहज बनाउँदै लैजाने योजना रहेको जानकारी दिए । स्थानीय तहमा डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा सेवा प्रवाह छिटो, पारदर्शी र प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ ।

स्थानीयले पनि डिजिटल बोर्डमार्फत् वडा कार्यालयका गतिविधि र सूचनाबारे सहज रूपमा जानकारी पाउन थालेको बताएका छन् । सूचना प्रवाहलाई आधुनिक बनाउने यस्तो अभ्यासले ग्रामीण क्षेत्रलाई पनि प्रविधिसँग जोड्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया