कला-साहित्य

माइजोगमाईमा ‘रैथाने गाथा’ सम्पन्न

सोमबार असार १, २०८३/ Monday 06-15-26

माइजोगमाई (इलाम)- माइजोगमाई सेवा समाजको आयोजना तथा माइजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा माइजोगमाई रैथाने गाथाको कार्यक्रम सम्पन्न भएको छ ।

माइजोगमाई सेवा समाज अध्यक्ष महेश आचार्यको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेको प्रमुख आतिथ्य र गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

इलामका इतिहासकार युद्धप्रसाद वैद्य, सङ्गीतकार–गायक कोमल निरौला, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद आचार्य, बुद्धि घिमिरे साहित्यिक प्रतिष्ठानकी संरक्षक टीका घिमिरे, थुम्के साहित्यिक समूहका अध्यक्ष केशवराज पौडेल, साहित्यकार दिवाकर भण्डारी पनि कार्यक्रममा सहभागी भए ।

वडाका जनप्रतिनिधि, माइजोगमाईका विभिन्न जात–जातिका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, रंगकर्मी तथा माइजोगमाईलाई जन्मथलो बनाएका विभिन्न ख्याति प्राप्त कलाकारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

माइजोगमाई गाउँपालिकाभित्रका रैथाने कला–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले माइजोगमाई सेवा समाजले माइजोगमाईका विभिन्न जातजातिको झाँकी प्रदर्शन गर्ने अवसरसमेत प्रदान गरेको थियो ।

माइजोगमाईमा रहेका विभिन्न संस्कृतिहरूलाई उक्त कार्यक्रममा प्रदर्शन गराइएको थियो । कार्यक्रममा माइजोगमाईका ख्यातिप्राप्त कलाकारहरू फुटी शेर्पा, कृष्ण भट्टराई तथा माइजोगमाईलाई जन्मथलो बनाएर इलाममा कर्मथलो बनाउँदै आएका कलाकार कोमल निरौलालगायतले आफ्नो प्रस्तुति प्रस्तुति दिएका थिए । युद्धप्रसाद वैद्यले माइजोगमाईको इतिहासबारे जानकारी गराए । 

कार्यक्रममा प्यानल डिस्कसनसमेत भएको थियो । प्यानल डिस्कसन सञ्चारकर्मी प्रेम अधिकारीले सञ्चालन गरेका थिए भने प्यानल डिस्कसनमा गाउँपालिका अध्यक्ष थेबे, उपाध्यक्ष राई, साहित्यकार दिवाकर भण्डारी तथा इतिहासकार वैद्य सहभागी भए ।

कार्यक्रम अवसरमा माइजोगमाईलाई विभिन्न क्षेत्रबाट सेवा गरेका विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रमको व्यवस्थापन तुलबहादुर लिम्बूले गरेका थिए भने खाजाको व्यवस्थापन छिपछिपे महिला कृषक समूहले गरेको थियो ।

तपाईको प्रतिक्रिया