कला-साहित्य

थामीको मुन्धुम ‘सिलोके पालाखे’ विमोचित

मंगलबार असार ९, २०८३/ Tuesday 06-23-26

इलाम- थामी समुदायको धार्मिक तथा सांस्कृतिक ग्रन्थ ‘सिलोके पालाखे (मुम्धुम)’ पुस्तक विमोचन गरिएको छ । माइजोगमाई गाउँपालिकाको अमरकल्याण माविमा आयोजित कार्यक्रममा अग्रजलाई सम्मान पनि गरिएको छ । 

नेपाल थामी समाज जिल्ला कार्य समितिको आयोजना तथा कोशी प्रदेश सरकारको सहयोगमा प्रकाशित पुस्तकको विमोचन माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेको प्रमुख आतिथ्यमा सम्पन्न भयो । गाउँपालिका उपाध्यक्ष प्रविना राई र प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद आचार्य पनि कार्यक्रममा उपस्थित थिए । 

कार्यक्रममा थामी समुदायका अग्रजलाई सम्मान गरिएको छ । समुदायको उत्थान, भाषा, संस्कृति र परम्पराको संरक्षणमा योगदान गरेका दिवंगत अग्रजको स्मृतिमा समेत सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा थामी समुदायका अग्रज, बुद्धिजीवी, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधि सहभागी भए । 

गाउँपालिका अध्यक्ष थेबेले थामी समुदायले आफ्नो जातीय इतिहास, धर्म, संस्कार र संस्कृतिलाई दस्तावेजीकरण गरी भावी पुस्तासम्म लैजाने महत्वपूर्ण कार्य गरेको बताए । उनले यस्ता कृतिले समुदायको मौलिक पहिचान संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने बताए ।

उपाध्यक्ष राईले समुदायको मौलिक ज्ञान, इतिहास र संस्कृतिलाई पुस्तकका माध्यमबाट संरक्षण गर्ने प्रयास उदाहरणीय रहेको बताइन् । पुस्तक प्रकाशन समिति संयोजक भक्त थामीले थामी समुदायको जन्मदेखि मृत्युपर्यन्तका संस्कार, परम्परा र मुम्धुमलाई एकीकृत रूपमा पुस्तकमा समेट्ने प्रयास गरिएको बताए । उनले समुदायको मौलिक सम्पदालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया