घुमफिर-पर्यटन

पहाडकी रानी इलाम : प्रकृति, संस्कृति र पदमार्गले कोर्दै पर्यटनको नयाँ भविष्य 

Wednesday 06-24-26

इलाम- पूर्वी नेपालको सुन्दर पहाडी जिल्ला इलाम केवल चियावारी र सूर्योदयको गन्तव्यमात्र होइन, जैविक विविधता, धार्मिक सम्पदा, कृषि पर्यटन र ग्रामीण जीवनशैलीको अनुपम संगम पनि हो । श्रीअन्तुदेखि सन्दकपुरसम्म र माइपोखरीदेखि माङमालुङसम्म फैलिएका पर्यटकीय सम्पदाहरूले इलामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउने सम्भावना बोकेका छन् । 

शीतल हावापानी, डाँडाकाँडामा मडारिने बादल, हरिया चियाबारी, हिमालसँग लुकामारी गर्ने सूर्योदय र बहुजातीय सांस्कृतिक जीवनशैलीले इलामलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेको छ । यही विशेषताका कारण इलामलाई ‘पहाडकी रानी’मात्र नभई ‘भू-स्वर्ग’का रूपमा पनि सम्बोधन गरिन्छ । 

प्रकृतिको अनुपम उपहार 

इलामको पर्यटन सम्भावनालाई प्रकृतिको सौन्दर्यले साथ दिएको छ । समुद्री सतहदेखि करिब तीन हजार छ सय मिटर उचारमा रहेको सन्दकपुर पूर्वी नेपालको सबैभन्दा चर्चित पर्यटकीय गन्तव्यमध्ये एक हो । नेपाल–भारत सीममा अवस्थित यस क्षेत्रबाट विश्वका पाँच अग्ला हिमालमध्ये चारवटा हिमाल एकैसाथ अवलोकन गर्न सकिन्छ । पदयात्रामा रमाउने स्वदेशी तथा विदेशी पर्यटकका लागि सन्दकपुर आकर्षणको प्रमुख गन्तव्य हो । 

सन्दकपुरको यात्रा गर्दा बाटोमा पर्ने रामसार सूचीमा सूचीकृत माइपोखरी धार्मिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण स्थल हो । यहाँ पाइने दुर्लभ वनस्पति, चराचुरुङ्गी तथा वन्यजन्तुले पर्यटकलाई जैविक विविधताको अनुपम अनुभव प्रदान गर्छन् । 

इलाम-पाँचथर सीमामा रहेको छिन्टापु फाल्गुनदेखि वैशाखसम्म गुराँसका रङ्गीचङ्गी फूलले ढाकिन्छ । यहाँबाट नेपाल, भारत र भुटानका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । बदलिँदो मौसम र मनोरम प्राकृतिक दृश्यले यस क्षेत्रको आकर्षण झनै बढाएको छ । 

पूर्वकै चर्चित गन्तव्य कन्याम चिया पर्यटनको पर्याय बनेको छ । हरिया चियाबारी, घोडचढी, तस्बिर खिच्नेको भीड र चियाको स्वादले यहाँ आउने पर्यटकलाई लोभ्याउँछ । कोशी प्रदेश सरकारको लगानीमा निर्माण भएको टी टेस्टिङ सेन्टरले कन्यामको पर्यटनलाई थप उचाइ दिएको स्थानीय बताउँछन् । 

कन्यामनजिकै रहेको श्रीअन्तु सूर्योदय अवलोकनका लागि प्रसिद्ध स्थल हो । यहाँबाट दार्जिलिङ, मिरिक, सिलगुडी तथा पूर्वी नेपालको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । सूर्योदयको मनोरम दृश्य हेर्न पर्यटकहरू रात नै बिताउने गर्छन् । 

धार्मिक र सांस्कृतिक सम्पदाको आकर्षण 

इलाम प्राकृतिक सौन्दर्यसँगै धार्मिक र सांस्कृतिक पर्यटनको पनि महत्वपूर्ण केन्द्र हो । पश्चिमी इलाममा रहेको सिद्धिथुम्का सूर्योदय र सूर्यास्त दुवै अवलोकन गर्न सकिने स्थलका रूपमा परिचित छ । 

गजुरमुखी धार्मिक आस्थाको केन्द्र हो । यहाँ दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास छ । विशेषगरी वालबालिकाको बोली खुल्ने विश्वासका कारण हरेक वर्ष हजारौँ भक्तजन यहाँ पुग्ने गर्छन् ।

माङमालुङ किरात सभ्यता, इतिहास र संस्कृतिसँग जोडिएको महत्वपूर्ण स्थल हो । यस क्षेत्रको सांस्कृतिक महत्वले धार्मिक पर्यटनलाई नयाँ आयाम दिएको छ । पाण्डवधारा, ज्ञानदिलदाससँग सम्बन्धित स्थल तथा अन्य ऐतिहासिक सम्पदाले पनि इलामको पर्यटनलाई समृद्ध बनाएका छन् ।  

कृषि पर्यटन : इलामको मौलिक पहिचान

इलामको पर्यटन केवल प्राकृतिक दृश्यमा सीमित छैन । कृषि पर्यटन यहाँको विशिष्ट पहिचान बनेको छ । चिया, अलैँची, अदुवा, अम्लिसो, आलु तथा दुग्ध उत्पादनले इलामको अर्थतन्त्रलाई बलियो बनाएको छ । ‘दुग्ध व्यवसायलाई पर्यटनसँग जोडेर लान सके इलामको ग्रामीण क्षेत्रले चाँडै मुहार फेर्छ,’ सुलुबुङका डेरी सञ्चालक भवीन्द्र सुवेदीले भने, ‘इलामलाई अब दुग्ध उद्योगले पनि चिनाउनुपर्छ ।’

पर्यटकहरू चिया बगान अवलोकन गर्न, प्रशोधन प्रक्रिया बुझ्न, कृषकसँग संवाद गर्न तथा ग्रामीण जीवनशैलीको अनुभव गर्न इलाम पुग्ने गर्छन् । डेरी उद्योग, चिज उपत्पादन तथा पशुपालनले कृषि पर्यटनलाई थप बिस्तार गरिरहेका छन् ।

इलामको प्रसिद्ध ललिपप, छुर्पी र विभिन्न प्रकारका चिया पर्यटकका प्रिय कोसेली बनेका छन् । कृषि र पर्यटनको यही सम्बन्धले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ ।

संस्कृति, स्वाद र गाउँको जीवन  

लिम्बू, राई, गुरुङ, मगर, नेवार, शेर्पा, लेप्चालगायतका विभिन्न जातजातिको बसोबास रहेको इलाम सांस्कृतिक विविधताको जिल्ला हो । यहाँ आउने पर्यटकले स्थानीय चाडपर्व, नृत्य, संस्कार र जीवनशैलीलाई नजिकबाट अनुभव गर्न सक्छन् ।

सेलरोटी, ढिंडो, वाचिपा, तोङ्बा, अर्गानिक खाना तथा स्थानीय परिकारले इलामको पर्यटनलाई थप स्वादिलो बनाएका छन् । संस्कृति र खानाको यही संयोजन इलामको पर्यटनले महत्वपूर्ण आकर्षण बनाएको छ । 

पूर्वाधार विकासमा प्रदेश सरकारको लगानी 

इलाममा पर्यटकीय क्षेत्रको विकासका लागि कोशी प्रदेश सरकारले सडक, खानेपानी, पदमार्ग व्यवस्थापन र गन्तव्य प्रचारप्रसारका लागि लगानी गरेको छ । जिल्लाको पर्यटकीय क्षेत्र सन्दकपुरस्थित जौबारी क्षेत्रमा पूर्वाधार निर्माणको काम भएको छ भने  रोङ गाउँपालिका ५ मा ५० लाखको लागतमा किरात सांस्कृतिक पार्क निर्माणको काम भइरहेको । यस्तै, कन्याममा ८५ लाखको लागतमा पदमार्गमा रेलिङ लगाउने भइरहेको छ । 

हर्कटदेखि गुगल प्वाइन्टसम्मको पदमार्ग निर्माण पनि कोशी प्रदेशले २५ लाख रुपैयाँ लगानी गरेको छ ।  सूर्योदय नगरपालिकाको जिमीखादमा जिमी राजारानीको ऐतिहासिक दरबार संरक्षणको कामसँगै पोखरी संरक्षणमा पनि प्रदेश सरकारले २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सूर्योदय नगरपालिका २ को पशुपतिनाथ मन्दिर मर्मतको कामलाई २५ लाख रूपैयाँ, माइजोगमाई ५ को मलुपोखरी संरक्षणका लागि २५ लाख, माइजोगमाईको तारेभीरमा पर्यटन प्रवर्धनका लागि २५ लाख, सन्दकपुरमा सामुदायिक भवन निर्माणमा २५ लाख रुपैयाँ, इलाम बजारको इलाम दरबारको संरक्षणमा २५ लाख, माईको तेह्रकुने पोखरी संरक्षणमा २५ लाखसँगै जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकासका लागि लगानी भएको छ । 

प्रदेश सरकारका साना, ठूला गरी इलाममा दर्जनभन्दा बढी योजना सञ्चालनमा रहेको कोशी प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री राम रानाले बताए । ‘प्रदेश सरकारले कृषि, पर्यटन र जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ,’ रानाले भने । 

होमस्टे : गाउँको आत्मासँग साक्षात्कार

ग्रामीण पर्यटनको विस्तारसँगै इलामका होमस्टेहरू लोकप्रिय बन्दै गएका छन् । करफोक खलङ्गा, माइपातल, माइपोखरी, फिक्कललगायतका क्षेत्रमा सञ्चालित होमस्टे विदेशी पर्यटकको रोजाइमा पर्न थालेका छन् । 

स्थानीय परिवारसँग बसेर गाउँको जीवनशैली बुझ्ने, स्थानीय खाना खाने र दैनिक गतिविधिमा सहभागी हुने अवसर होमस्टेले प्रदान गर्छ । कतिपय विदेशी पर्यटक हप्तौँसम्म गाउँमै बसेर स्थानीय संस्कृतिमा घुलमिल हुने गरेका छन् । यही अनुभवले इलामलाई ‘अनुभव गर्ने गन्तव्य’का रूपमा चिनाउन मद्दत गरिरहेको छ । ‘सुकिलो सडकमा हुइँकिँदै तारे होटलमा बसेर रमाउँदा बेग्लै मजा होला,’ इलाम घुम्न आएका एक पर्यटकले भने, ‘गाउँघरमा फन्को लगाउँदै रमाउँदाको आनन्द छुट्टै हुँदोरहेछ ।’ 

होमस्टेमा लोकल कुखुरा, खसी, बोकाको मासुदेखि सेल रोटी, स्थानीय कोदोको ढिँडो, आलु, मुला, गाजर, मकै भटमास, केराउलगायतका स्थानीय उत्पादनबाट तयार परिएका खानाका विभिन्न परिकारहरूको स्वाद मज्जाले लिन पाइन्छ । 

पछिल्लो समयमा ग्रामीण पर्यटनको अवधारणा अनुरूप होमस्टे पर्यटनप्रति आकर्षण बढेको छ । गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन मौलिक गाउँबस्तीमा पुग्नैपर्छ । गाउँको मौलिक परम्परा, रहनसहन र जीवनशैली बुझ्दै ग्रामीण पर्यटकीय स्थलहरूको भ्रमण गर्न विदेशी मात्र होइन, नेपालीहरूमा पनि आकर्षण बढेको पाइन्छ । ‘महँगा होटेलको तुलनामा सस्तोमा स्तरीय सेवा होमस्टेमा पाइन्छ,’ नगर पर्यटन प्रवद्र्धन इलामकी अध्यक्ष सुशीला सापकोटाले भनिन्, ‘होमस्टेमा बस्र्ने पर्यटकहरूले एकै परिवारको सदस्यझैं बस्न खान र रमाउन पाँउछन् ।’

अनलाइनबाटै हुन्छ होमस्टे बुकिङ

इलामको सूर्योदयमा रहेको करफोक खलङ्गा सामुदायिक होमस्टेले इलाममा एउटा छुट्टै पहिचान बनाएको छ ।   फिक्कल बजार पार गर्दै इलामतर्फ लाग्दा मेची राजमार्गको छेउमै रहेको खलङ्गा सामुदायिक होमस्टे यतिबेला विदेशी पाहुनाको रोजाइमा पर्न थालेको छ । 

६० जनासम्म अट्ने क्षमताको यो सामुदायिक होमस्टेमा पाहुनाले स्थानीय परिकार, संस्कृति, तथा ग्रामीण जीवनशैलीको अनुभव लिन पाउँछन् । विगत चार वर्षदेखि सुरु गरिएको यो होमस्टेमा छिमेकी देश भारतका बङ्गाली, बिहारी तथा अन्य विदेशी पाहुना ‘बुकिङ डट कम’जस्ता अनलाइन प्लेटफर्ममार्फत् बुकिङ गरेर आउने गरेको होमस्टे सञ्चालक चन्द्र सापकोटाले जानकारी दिए । ‘अहिले अनलाइनबाट होमस्टेमा बुकिङ हुने गरेको छ,’ सापकोटाले भने, ‘अनलाइन बुकिङले गर्दा विदेशी पर्यटकलाई होमस्टे बुकिङ गर्न सजिलो भएको छ ।’

डिजिटल प्रविधिसँग जोड्ने काम भने सापकोटाका छोरा किरण सापकोटाले गरेका हुन्  । ‘बुकिङ डट कम’मार्फत् होमस्टेको पहुँच अन्तर्राष्ट्रिय जगतसम्म  लैजाने उद्देश्यले अनलाइन बुकिङ सुरु गरिएको किरणले बताए । ‘अनलाइन बुकिङले होमस्टेको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म बिस्तार भएको छ,’ उनले भने । 

गतवर्ष बेलायत निवासी सु चेम्बरलिन अनलाइन बुकिङमार्फत् होमस्टेमा आएकी थिइन् । उनले इलाम खुबै मन परेको र यहाँ ढुक्कसँग बस्न, हिँड्न पाएको भन्दै खुसी व्यक्त गरिन् । ‘यहाँको खाना पनि मीठो, मान्छे पनि मिजासिला रहेछन्,’ उनले भनिन्, ‘करिब ४४ वर्षअघि पनि नेपाल आएकी थिएँ ।’ ‘अहिले इलाममा प्लास्टिकको फोहोर बढेको रहेछ,’ विगत सम्झिँदै उलने भनिन्, ‘फोहोर व्यवस्थापनमा काम गर्नसके इलामको पर्यटकीय भविष्य राम्रो छ ।’ अनलाइन बुकिङका कारण आफू होमस्टेसम्म आउन सफल भएको उनको भनाइ थियो ।  

पदमार्ग विकासले खोल्दै नयाँ सम्भावना 

पर्यटन प्रवर्धनका लागि कोशी प्रदेश सरकारले सडक, पदमार्ग, खानेपानी तथा धार्मिक–सांस्कृतिक सम्पदा संरक्षणमा लगानी बढाएको छ । हाल कोशी प्रदेशमा चियाबारी पदमार्ग, फाल्गुनन्द पदमार्ग, लालीगुराँस पदमार्ग र मुन्धुम पदमार्ग निर्माणको काम अघि बढिरहेको छ । 

करिब २ अर्ब ४५ करोड रूपैयाँ लागतका यी परियोजनाले पर्यटनसँगै स्थानीय अर्थतन्त्रलाई पनि चलायमान बनाउने अपेक्षा गरिएको छ । विशेषगरी सूर्योदय नगरपालिकामा निर्माणाधीन चियाबारी पदमार्गले कन्याम, फिक्कल र श्रीअन्तु क्षेत्रलाई जोड्दै चिया पर्यटनलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ । 

पर्यटन मार्गदेखि पर्यटकीय स्थलसम्म कोशीका १४ वटै जिल्लाका पर्यटकीयस्थलको विकासका लागि काम भईरहेको कोशी प्रदेशका मुख्यमन्त्री  हिक्मत कार्कीले बताए । ‘आगामी दिनमा पर्यटकीय स्थलको विकास र पर्यटन प्रवर्धनका लागि कोशी प्रदेशले लगानी गर्छ,’ कार्कीले भने, ‘पर्यटनको माध्यमबाट कोशी प्रदेशले मुहार फेर्नसक्छ ।’

पर्यटनमा चुनौती र अवसर 

पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति भएपनि इलामले अझै केही चुनैती सामना गरिरहेको छ । गुणस्तरीय सेवा, सरसफाइ, फोहोर व्यवस्थापन, पर्यटकमैत्री वातावरण र दीगोपनका क्षेत्रमा थप सुधार आवश्यक रहेको यहाँ आउने पर्यटक बताउँछन् । 

विशेषगरी होटल, यातायात र सेवा क्षेत्रको ‘हस्पिटालिटी’ सुधार गर्नसके पर्यटकको अनुभव अझ सकारात्मक बन्न सक्छ । ‘मुस्कान, सम्मान र सत्कार पर्यटन उद्योगका सबैभन्दा महत्वपूर्ण आधार,’ पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले भने, ‘अब हस्पिटालिटी सुधारका लागि विशेष ध्यान दिनुपर्छ ।’ 

प्रकृतिको अनुपम सौन्दर्य, धार्मिक आस्था, कृषि उत्पादन,  सांस्कृतिक विविधता र ग्रामीण जीवनशैलीलाई प्रभावकारी रूपमा पर्यटनसँग जोड्न सके इलाम केवल घुम्ने ठाउँमात्र रहने छैन, अनुभव गर्ने गन्तव्यका रूपमा पनि स्थापित हुनेछ । यही सम्भावनाले इलामलाई नेपालको पर्यटन मानचित्रमा अझ उज्यालो भविश्यतर्फ लम्काइरहेको छ ।

तपाईको प्रतिक्रिया