विज्ञान-प्रविधि

प्रविधिमा फड्को मार्दै इलाम नगरपालिका 

शुक्रबार असार १२, २०८३/ Friday 06-26-26

इलाम- इलाम नगरपालिका–९ की गंगादेवी भट्टराईले यसपटक इलाम–१२ साङरुम्बामा भएको आफ्नो जग्गाको भूमिकर आफू बसेकै वडाबाट तिर्न पाइन् । सधैं मालपोत कर तिर्न साङ्गरुम्बा नै धाउनुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेकामा भट्टराई खुसी छिन् । ‘सधैं साङ्गरुम्बा जान्थें, छोराले आफूलाई फुर्सद नभएपछि आमा तिरेर आउनू भन्थ्यो । यसपालि त हाम्रै वडाबाट तिर्दा भयो,’ भट्टराईले भनिन्, ‘कोही बेला त यसो गर्दा पनि हुँदोरहेछ ।’ 

जिल्लाको पुरानो नगरपालिका इलाम नगरपालिका यतिबेला कार्यालय प्रयोजनका लागि पेपसलेस (कागजशून्य) बनाएर प्रविधि भित्र्याउनमा प्रयासरत छ । नगरपालिकामा कार्यालय प्रयोजनका लागि परम्परागत शैलीको कागज प्रयोग हटाएर सफ्टवेरबाटै एकीकृत सूचनाप्रणालीमार्फत् कामकाज हुन थालेको छ । 

पेपरलेस अवधारणा

कार्यालयका विभिन्न शाखाबाट हुने काम, नगर क्षेत्रभित्रका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायत स्थानमा कर्मचारीको हाजिरीदेखि नगरका सवारी साधनसमेत प्रविधिबाट निगरानी गर्न थालिएको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काका अनुसार अचेल सेवाग्राही पनि डिजिटल सेवा लिन पाउँदा खुसी छन् । 

‘सेवाग्राहीले लामो समयदेखि काममा ढिलासुुस्तीको गुनासो गर्ने गरेका थिए । हामीले सबै शाखाका कामलाई सफ्टवेरमा जोडेपछि गुुनासो धैरै कम भएको छ,’ खड्काले भने, ‘अहिले यदि कसैको काम ढिलो भइहाले सम्बन्धित सेवाग्राहीको फाइल कहाँ पुुगेर रोकिएको छ । किन रोकिएको हो । तत्काल हामीले सोधेर ती कर्मचारीलाई जवाफदेही बनाएका छौं ।’ सफ्टवेरमार्फत् काम गर्दा कर संकलनदेखि बीचमा हुनसक्ने चुहावटलाई नियन्त्रण गर्न सहयोग पुगेको छ । 

कार्यालयका विभिन्न शाखाबाट हुने काम, नगर क्षेत्रभित्रका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायत स्थानमा कर्मचारीको हाजिरीदेखि नगरका सवारी साधनसमेत प्रविधिबाट निगरानी गर्न थालिएको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काका अनुसार अचेल सेवाग्राही पनि डिजिटल सेवा लिन पाउँदा खुसी छन् । 

यसअघि कागजी प्रक्रियाबाटै सिफारिस बनाउँदा कतिपय सेवाग्राहीले तिरेको कर कर्मचारीले  नगरमा दाखिला नगरेको, कर्मचारी कार्यालय समयभित्र कार्यालयमा नबसेको, एउटा कामका लागि गएका नगरका सवारी साधन अर्कै काममा कुदेको धेरै गुनासा आउने गरेका थिए । तर, प्रविधिको प्रयोग भएसँगै कार्यालयबाट यी सबै कामको निगरानी हुने र सिसी क्यामेरा फुटेजसमेत रहने गरेकाले नगरको कामलाई चुस्त बनाएको प्रमुख प्रशासकीय अधिकृत खड्काको भनाइ छ । 

गाडीमा जिपिएस

नगरपालिकाले अहिले सर्वसाधारणका घर–नक्सा पासको काम पनि  विद्युुतीय प्रणालीबाटै गर्ने गरेको छ । नगरका सवारी साधनमा जोग्राफिकल पोजिसनिङ सिस्टम (जिपिएस)प्रणालीबाट निगरानी बढाइएको छ । अहिले नगरपालिकाको प्राविधिक शाखामा १३ मोटर साइकल, ६ वटा ट्र्याक्टर, एउटा एम्बुलेन्स, एउटा पिकअप र एउटा ल्यान्डरोभरलाई जिपिएस प्रविधिमा जडान गरिएका छन् । सवारी साधनको इन्धन प्रयोगलाई पनि सफ्टवेरमा जडान गरिएको छ । यसबाट कुन सवारीमा कति इन्धन छ र कुन सवारीलाई कति इन्धन आवश्यक छ भन्ने कुरा यो प्रविधिमार्फत् कार्यालयभित्रै बसेर जाँच गर्न सकिन्छ । 

विद्युतीय हाजिरी

नगरपालिकाले शिक्षक र कर्मचारीलाई नियमित गराउन नगरपालिका कार्यालय, नगर क्षेत्रका ४६ विद्यालय, १२ वटा वडा, कोल्ड स्टोर, जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासन उप–शाखामा विद्युुतीय हाजिरी पनि जडान गरेको छ ।  

नगरपालिकामा जडान गरिएको यो एकीकृत सूचनाप्रणालीमा कर्मचारीको विवरण, दर्ता चलानी, योजना व्यवस्थापन, न्यायिक सम्पादन, बेरुजुु व्यवस्थापन, सामाजिक सुुरक्षा प्रणाली, खानेपानी व्यवस्थापन प्रणाली, कर संकलन प्रणालीलगायतका सबै शाखाका सबै कामलाई समावेश गरिसकिएको कार्यालयका सूचना प्रविधि प्रमुख दीपेश श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुुसार ०७९ देखि अहिलेसम्मका सबै काम यो सूचनाप्रणालीमा राखिएको छ । ‘योजना व्यवस्थापनमा वडादेखि नगरसम्मका पूूर्वाधारको इस्टिमेटदेखिका काम सफ्टवेरबाट हुुन्छन् । न्यायिक समितिको काममा पनि धेरै सहज बनाएको छ, सबै सफ्टवेयरले गर्छ,’ श्रेष्ठले भने, ‘अर्को चाहिँ करदाताको सम्पूर्ण विवरण अद्यावधिक गरिएको छ । करदाता र उहाँहरूलाई चाहिने सिफारिसबीचमा इन्टिग्रेसन गरी सिफारिस दिने गरिएको छ । यी सबै कामको निगरानी भने नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबाट हुने गरेको छ ।’ 

बजारमा सिसी क्यामेरा

नगरपालिकाले यही सफ्टवेरमार्फत् नै कार्यालयभित्र, वडा कार्यालय र बजार क्षेत्रमा सिसी क्यामेराको व्यवस्थापन गरेको छ । नगरपालिकाभित्र ३८ वटा सिसी क्यामेरा जडान गरिएका छन् । यसको निगरानी पनि नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबाट हुने गरेको छ । नागरिकको सुरक्षा सतर्कताका लागि इलामको जिरो किलोमिटर, बजार क्षेत्र हुँदै धोबीधारासम्म १७ वटा सिसी क्यामेरा जडान गरिएको छ । 

बजार क्षेत्रमा राखिएका सिसी क्यामेराको ‘कन्ट्रोल’ भने जिल्ला प्रहरी कार्यालयमा छ । गएको भदौ २३ र २४ को जेन्जी आन्दोलनमा क्रममा कतिपय सिसी क्यामेरामा क्षति पुगेकाले तिनीहरूको मर्मतको कामसमेत भइरहेको नगरपालिकाले जनाएको छ । बजार क्षेत्रका सिसी क्यामेराले आफ्नो व्यवसायमा सुरक्षित महसुस भएको स्थानीय व्यापारीहरू बताउँछन् । 

त्यसो त, विगतमा दिउँसै इलाम चोक बजारबाट पार्किङमै राखिएका मोटरसाइकल चोरीका घटना पनि भएका थिए । यी र यस्ता घटनालाई सिसी क्यामेराको जडानपछि केही सुुरक्षित महसुस भने गरिएको इलाम चोक बजारमै कोसेली पसल सञ्चालन गरिरहेकी व्यवसायी मन्दिरा घिमिरे बताउँछिन् । ‘अहिले त सुरक्षित नै भएकोजस्तो लाग्छ । हामी काठको सटर त्यसै बन्द गरेर हिँड्छौं । खासै असुरक्षित लाग्दैन,’ घिमिरेले भनिन् ।

नगरपालिकाको यो ‘पेपरलेस’ र विद्युतीय प्रविधिको प्रयोगलाई हेर्दा सेवाग्राहीको कामलाई निकै सहज बनाएको इलाम उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण पौड्यालले बताए । ‘अनलाइनबाटै गर्ने हरेक कामको प्रयास राम्रो छ । तर, बजारमा भएका कतिपय सिसी क्यामेराले काम गरेका छैनन् । कति स्थानमा थप सिसी क्यामेरा राख्नुपर्ने अवस्था छ । नागरिक र बजारको सुरक्षाका लागि सिसी क्यामेराको निगरानी  धेरै राम्रो हो,’ पौड्यालले भने, ‘सर्वसाधारणले सिसी क्यामेरा भएको महसुस गर्न सक्नुपर्छ । नगरले यो विषयमा अझै ध्यान दिन जरुरी छ ।’ 

नगरका सवारी साधनमा जिपिएस प्रणालीबाट निगरानी बढाइएको छ । अहिले नगरपालिकाको प्राविधिक शाखामा १३ मोटर साइकल, ६ वटा ट्र्याक्टर, एउटा एम्बुलेन्स, एउटा पिकअप र एउटा ल्यान्डरोभरलाई जिपिएस प्रविधिमा जडान गरिएका छन् ।

यता नगरका हरेक कामलाई विद्युतीय प्रविधिमा जडान गरिएपछि आफूहरूलाई पनि काम सम्पादन गर्न गराउन धेरै सहज भएको नगर प्रमुख केदार थापाको भनाइ छ । यस प्रणालीका कारण नगरपालिकाले कार्य सम्पादन मूल्याकंनमा फड्को मार्न सफल भएको थापाले बताए । 

‘राजश्व चुहावटदेखि कर्मचारीबाट हुुनसक्ने ढिलासुस्तीको धेरै नियन्त्रण भएको छ । कार्यालयको कामलाई चुस्त, पारदर्शी ढंगले सम्पादन गर्ने  र सेवाग्राहीले समयमा सेवा पाउनुपर्छ भन्ने हाम्रो मुख्य लक्ष्य हो,’ नगर प्रमुख थापाले भने, ‘हामीले सुरु गरेको एकीकृत सूचना प्रणाली साँच्चै नगरपालिकाको कार्य सम्पादनका लागि अभिन्न अंगजस्तै भएको छ । 

नगरपालिकाले खानेपानीको बिल काट्ने कार्यलाई पनि यही प्रविधिमा जोडेको छ । तर, खानेपानीको शुल्क भुक्तानी गर्न भने सेवाग्राहीले कार्यालयमै धाउनुपर्ने बाध्यता छ । यो बाध्यता हटाउन पनि अहिले ‘इ-भुक्तानी’ का लागि सम्बन्धित कम्पनीसँग सहकार्यको काम सुरु गरेको मेयर थापाले जानकारी दिए । 

२०१५ सालमा स्थापना भएको इलाम नगरपालिकाले वडा–वडामा डिजिटल बोर्ड राख्ने कामसमेत गरिरहेको छ । वडामा डिजिटल बोर्ड राखी कार्यालयले दिने सबै खाले सेवा, त्यसको राजश्वलगायत विभिन्न जानकारी राख्ने गरिएको छ । ती जानकारी प्राप्त गर्ने सेवाग्राहीले कार्यालयभित्रै नपसी पनि कार्यालयले दिने सेवाबारे जानकारी प्राप्त गर्नसक्ने भएका छन् । 

नगरपालिकाले सेवाग्राहीलाई अझ सहज बनाउन डिजिटल भुक्तानी, कृत्रिम बुद्धिमता (एआई)लगायतको क्षमता विकासलाई पनि प्राथमिकता दिएको छ । सूचना र प्रविधिका माध्यमबाट सेवाग्राहीले पाउने सेवालाई चुस्त बनाउन विभिन्न प्रविधि जडान गर्ने योजना रहेको पनि नगरले जनाएको छ । नगर आउँदो आर्थिक वर्ष पनि सूचना र प्रविधिको क्षेत्रमा काम गर्न विभिन्न नीति र कार्यक्रम अघि बढाएको छ । 

इलाम बजारमा समेत ठूलो डिस्प्ले बोर्ड राखी बजार घुम्न आउने आगन्तुकलाई इलाम नगरले गरिरहेका गतिविधिबारे जानकारी दिने व्यवस्था मिलाइएको छ । यसमा इलाम नगरका विभिन्न पर्यटकीय ठाउँहरूको भिडियो प्रस्तुत गर्ने गरिएको छ भने विभिन्न जानकारीमूलक सूचनाहरू पनि यसैमार्फत् सार्वजनिक गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया