दृष्टिकोण

राजदुवालीको दसा र सोच्न नसकिएको विकल्प

मंगलबार असार १६, २०८३/ Tuesday 06-30-26

इलाम, पाँचथर र ताप्लेजुङको लाइफलाइन नै मानिने मेची राजमार्गको राजदुवालीमा असार १५ का दिन टुनकाठ (गोलिया) बोकेको ट्रक दुर्घटना भयो । भगवानको कृपाले गुरूजी बाँच्नुभयो । सायद, यहाँ यो पहिलो ठूलो दुर्घटना हो । 

सम्भवतः २०६८ सालदेखि नै बिस्तारै भत्किँदैआएको  राजमार्गको यो खण्डमा हालसम्म विभिन्न प्रयास नगरिएका भने पक्कै होइनन्, विगत १५ वर्षको दौरानमा । 

यो खण्डको भौगोलिक अवस्था, हामी साधारण व्यक्तिको नजरबाट हेर्दा पनि माइखोलासँग जोडिएको भागमा यसको कुनै बेड रक छैन । लगभग ३ सय मिटर क्रस गर्दा क्षतिग्रस्त भागको माथिल्लो भाग (हाइड्रोपावरको पेनस्टक पाइपसम्म) आइपुग्छ । जसको बीचमा ४-५ वटा घुम्ती छन् । 

सरसर्ती हेर्दा खैरो बलौटेमाटो र थुप्रै लडुवा ढुङामात्र  देखिन्छन् । लगभग १५-२० डिग्रीको भिरालो भू-खण्डको भित्तामा विगत १५ वर्षको प्रयाससा लगभग ३०-४० फिट लामो फलामको पाइप जस्तोले छेडिएको (रक एंकरिङ) थियो । त्यसले भिरालो भागलाई अझ भिरालो बनाइदिएको छ ।

साधारणतया हेर्ने हो भने पनि यति सानो क्षेत्रफल (हाफ स्क्वायर किमी)भित्रका भित्ताहरूमा छेडिएका ठूला पाइप, कमजोर माटोको बनावट र ४-५ घुम्ती भएको स्थानमा, धेरै वर्षदेखि कुदिरहेका सवारी साधनले जमिन कति छिया–छिया पारेको होला !  सुन्नमा आएअनुसार, माथिल्लो भागमा नजिकै रहेको पेनस्टक पाइपभित्रबाट पानी चुहावट रहेछ । यो स्थान राजमार्ग बन्नुअघि खेत रहेछ । अतः जमिन ज्यादै फ्रेजाइल भएको पक्का छ । धन्न पाँचथर र ताप्लेजुङ जाने अन्य वैकल्पिक बाटो (हिउँदमा)ले यसको लोड घटाएको छ ।

पक्कै पनि यो क्षेत्रको भारवहन क्षमतालाई  ध्यानै नदिई सिर्फ बाटो बनाउने काममात्र भयो । राजमार्ग भन्दैमा भौगोलिक कारणले गर्दा त्यसको विकल्प नै खोज्न नहुने होला र ! छेउ–छेउमा अन्य भौगर्भिक हिसाबले अझ मजबुत जग्गा छैन होला र ! यतिका वर्षसम्म लाइफ लाइन भनिने राजमार्ग, त्यसमा पनि इलामजस्तो निर्यातमूलक कृषिउपजको अग्रणी जिल्लामा यातायातको प्लान ‘बी’ र प्लान ‘सी’ भनेर  नसोचिनु हाम्रो रणनीतिक सोचमा नै नआएको त होइन ?

यो राजमार्गको सम्बद्ध निकायलाई पत्रकार मित्रहरू र उद्योग वाणिज्य संघ इलामका अध्यक्षज्यूले हिउँदकै समयमा खबरदारी त गरेकै हो तर खै त ! 

सुशीला कार्की सरकारको पालामा इलामलाई सङ्कटग्रस्त जिल्ला घोषणा त गरेकै हो । तर, कार्यान्वयन कहाँ अल्झियो ? यसको कार्यान्वयनको समयावधि राखिँदैन र ?

पक्कै पनि, हामी आम जनता, पत्रकारहरू र सोसल मिडियामा लेख्ने मित्रहरूले कुनै पनि अप्रिय घटना हुने प्रक्षेपण नगरी उपयुक्त समयमै खबरदारी त गरेकै हो तर खै ?  यो राजमार्गको यही भागले गर्दा हालसम्म के–कति क्षति बेहोर्नुपरेको होला, आर्थिक, सामाजिक, सांस्कृतिक, रणनीतिक आदि-आदि ।

यतिको विपद् झेले पछि त, छेपारोको कथा यहाँ पनि लागु नहोला !

तपाईको प्रतिक्रिया