इलाम–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने कडा रोगका विरामीहरुलाई दिंदै आएको उपचार खर्च वापतको रकम छ महिना बितिसक्दा पनि इलामका विरामीहरुले पाउन सकेका छैनन् ।
त्रैमासिक रुपमा स्थानीय पालिका मार्फत उपलब्ध हुने उक्त रकम गएको छ महिना यता नआएको इलाम–७ की सेवाग्राही होमकुमारी भट्टराईले बताइन् ।
न्युन आय भएका कतिपय विरामीहरुले खरिद गर्नुपर्ने औषधी यो रकममार्फत नै खाने गरेका छन् । इलामका इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माइनगरपालिका लगायत सबै जसो पालिकाहरुबाट ती विरामीहरुले उक्त रकम नपाएका हुन् ।
इलाम नगरपालिकाले सूचनानै प्रकाशित गरेर संघीय सशर्त बजेट अन्तर्गत आउने उक्त रकम गएको माघ महिना यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नआएको जनाएको छ ।
मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगका बिरामी र मेरुदण्ड पक्षाघात भएका विरामीहरुले यो रकम पाउँदै आएका थिए । इलाम नगरपालिकामा ९७ जना बिरामीहरूले यो रकम पाउँदै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पटक–पटक मन्त्रालयमा ताकेता गर्दा पनि यो रकम नआएको सूचनामा उल्लेख गरेको छ ।
उता लामो समय देखि उक्त रकम नआए पछि सन्दकपुर गाउँपालिकाले भने आफ्नो आन्तरिक बजेटबाट खर्च गरेर त्यस्ता बिरामीहरुलाई खर्च उपलब्ध गएको छ । ‘माथिबाट समयमा उक्त रकम आएन, यहाँ विरामीहरु सधैं आइरहनु भयो । विरामीको समस्या बुझेर हामीले पालिकाको आन्तरिक खर्चबाट ती विरामीलाई खर्च उपलब्ध गरायौं ।’ सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले भने ‘तर माथिबाट रकम नआउँदा अब पालिकामा त्यही चाँहि बेरुजु आउने स्थिति छ ।’
यस्तै माइ नगरपालिकामा पनि उक्त रकम माथिबाट नआएको नगरपालिकाकी उप–प्रमुख हिमा भण्डारीले जानकारी दिइन् । ‘लामो समय भयो रकम आएको छैन । रकम लिने बिरामीहरुले भने चासो गरिरहनु भएको छ ।’ भण्डारीले भनिन् । यसैबीच सूर्योदय नगरपालिकाले भने पटक–पटक ताकेता गरेपछि उक्त शिर्षको बजेट आएको जनाएको छ ।
तपाईको प्रतिक्रिया