इलामकी संगीता भण्डारीको तीजविशेष ‘रानीहार’ सार्वजनिक
माइजोगमाई (इलाम)- नजिकिँदै गरेको हरितालिका तीजलाई लक्षित गर्दै इलाम माइजोगमाईकी सञ्चारकर्मी तथा गायिका संगीता भण्डारीको नयाँ तीज गीत ‘रानीहार’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भण्डारीको स्वरमा रहेको तीजविशेष गीत ‘रानीहार’ डुस म्युजिक अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । तीजको मौलिकता, मनोरञ्जन र सांगीतिक भावनालाई समेटेर तयार पारिएको गीतको म्युजिक भिडियो पनि आकर्षक र रमाइलो शैलीमा निर्माण गरिएको छ ।
गीतमा डिपी खनालको शब्द रचना, शंकर थापा ‘स्माइल’को संगीत तथा केशवराज भट्टको निर्देशन छ । गीतको संगीत संयोजन विषम आचार्यले गरेका छन् भने राजेश श्रेष्ठले रेकर्डिङ गरेका हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन् ।
‘रानीहार’को म्युजिक भिडियोमा गायिका भण्डारीसँगै यासु भट्टराई र मिलासा वाग्लेको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन विशाल थापाले गरेका छन् भने मेकअप सरोज बुढाथोकीले गरेका हुन् । भिडियोको सम्पादन तथा कलर दीपक विष्टले गरेका छन् । नृत्यतर्फ श्याम पटेलको सहकार्य छ ।
इलामको माइजोगमाई गाउँपालिका–१, शंखाबुङ निवासी संगीता भण्डारी लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय छिन् । उनले रेडियो पत्रकारिता तथा प्रस्तोताका रूपमा केएटिएच एफएम र दर्बी इन्टरनेसनल एफएममा लामो समय काम गरेकी थिइन् । सञ्चार क्षेत्रमा सक्रिय भण्डारी पछिल्लो समय गायन क्षेत्रमा समेत आफ्नो पहिचान बनाउने क्रममा छिन् ।
‘रानीहार’ भण्डारीको स्वरमा सार्वजनिक भएको दोस्रो गीत हो । यसअघि उनले करिब चार वर्षअघि गायक स्वरूपराज आचार्यसँग डोयट गीत गाएकी थिइन् । पहिलो गीतपछि लामो समयको अन्तरालमा उनले पुनः आफ्नो स्वरमा तीज गीत सार्वजनिक गरेकी हुन्।
तीजको अवसर पारेर सार्वजनिक गरिएको ‘रानीहार’ले आफूलाई गायन क्षेत्रमा थप अगाडि बढ्न प्रेरणा दिएको भण्डारीले बताइन् । सञ्चारकर्मसँगै संगीतलाई पनि निरन्तरता दिने योजनामा रहेकी उनले आगामी दिनमा थप गीत–संगीतमार्फत् दर्शक तथा श्रोतामाझ आउने तयारी गरिरहेकी छन् ।
भण्डारीका अनुसार उनको स्वरमा रहेको तेस्रो तथा डान्सिङ नम्बरको गीतसमेत चाँडै बजारमा सार्वजनिक हुने तयारीमा छ । उक्त गीत सार्वजनिक भएपछि आफूलाई गायन क्षेत्रमा थप अगाडि बढ्न सहयोग पुग्ने उनको विश्वास छ ।
तपाईको प्रतिक्रिया