राजनीति

विदेशमा रहेका नेपाली देश विकासको साझेदार हुन् : नेम्बाङ 

शुक्रबार श्रावण २२, २०८३/ Friday 08-07-26

इलाम- इलाम क्षेत्र २ का प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) केन्द्रीय सदस्य सुहाङ नेम्बाङले नेपालको समृद्धिका लागि स्वदेश र विदेश सबै क्षेत्रबाट एकजुट भएर लाग्न आग्रह गरेका छन् । 

प्रवासी नेपाली मञ्च, कतारको आठौं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै नेता नेम्बाङले देश विकासका लागि प्रवासी नेपालीको योगदान प्रशंसनीय रहेको बताए । 

देश विकासको नेतृत्व गर्न एमालेले थप पुनर्संरचनासहित पुनर्जागरणमा जुट्नुपर्ने उनले बताए । विद्यमान चुनौतीहरू चिर्न युवाले बढी जोड गर्नुपर्ने धारणा उनको थियो । 

‘विदेशमा रहेर पनि नेपालको विकास, समृद्धि र राष्ट्रिय हितमा यहाँहरूले गर्नुभएको योगदान अत्यन्त प्रशंसनीय छ,’ उनले भने, ‘कतारमा कार्यरत नेपाली श्रमिकहरूले आफ्नो मेहनत, पसिना र सीपमार्फत् नेपालको अर्थतन्त्रमा योगदान गर्नुभएको छ ।’ 

प्रवासबाट नेपाल पुग्ने रेमिट्यान्सले लाखौँ नेपाली परिवारको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेको नेम्बाङको भनाइ छ । विदेशमा रहेका नेपाली श्रमिक केवल वैदेशिक रोजगारीमा रहेका नागरिकमात्र नभई नेपालको आर्थिक विकासका महत्वपूर्ण साझेदार पनि भएको नेम्बाङले बताए ।

तपाईको प्रतिक्रिया