राजनीति

राष्ट्रिय एकता कायम हुनुपर्छ : पूर्वप्रधानमन्त्री ओली

शनिबार श्रावण ३०, २०८३/ Saturday 08-15-26

इलाम- नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै जातजाति, भाषाभाषी, पेसा र समुदायको समान विकास हुनुपर्ने बताएका छन् । मानिसबीच विभेद हुन नहुने भन्दै उनले न्याय, समानता र सामाजिक सद्भाव कायम गरी सुदृढ राष्ट्रिय एकता निर्माण गर्नुपर्नेमा जोड दिए ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकलाई इलामको फिक्कलमा सम्बोधन गर्दै ओलीले देशभिको विविधतामा विभेद हुन नहुने जनाए । ‘न्याय, समानता र सामाजिक सद्भाव कायम गरी सुदृढ राष्ट्रिय एकता कायम गर्नुपर्ने हाम्रो जिम्मेवारी हो,’ उनले भने, ‘देशको विविधता हाम्रो सम्पत्ति हो ।’ 

उनले धनी–गरिबबीचको ठूलो असमानता समाजको कुरूपता भएको टिप्पणी गर्दै कसैलाई गरिबीमा बाँच्न बाध्य पार्न नहुने बताए । दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकसमेत शिक्षा र स्वास्थ्यबाट वञ्चित हुन नहुने उनको भनाइ थियो ।

ओलीले जनतामा भ्रम छरेर र देशमा आतंक मच्चाएर अहिलेको सरकार गठन भएको आरोप लगाए । ‘अहिले जनताले सरकारको नाडी छामिसकेका छन्,’ उनले भने, ‘बच्चालाई खाना बनाउन लगाउँदा तरकारी कसरी काट्ने भन्ने थाहा हुँदैन । कहिले ननाचेको मान्छेलाई नाच्न लगाउँदा पार काट्दैन । नाच डान्सरकै राम्रो हुन्छ,’ ओलीले भने, ‘उरन्ठेउलाहरूले देशलाई अधोगतिको दिशामा लगे । उनीहरूलाई देश चलाउन आउँदैन । जलाउन आउँछ । जसले जे जानेको छ, त्यही गर्ने हो ।’

ओलीले सरकारले देश र जनताको हितमा काम गर्न नसकेको दाबी गरे । ‘एमालेले समृद्ध नेपाल, सुखी नेपाली किन भनेको भने सुखी, सुरक्षित हुनुपर्छ । सम्मानित र अधिकारसम्पन्न जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गर्न खोजिएको हो,’ उनले भने । 

अध्यक्ष ओलीले युवालाई जिम्मेवार, सुशील र अध्ययनशील बनाउनुपर्ने बताए । केही अपराधीका गतिविधिलाई ‘जेनजी’ पुस्तासँग जोडेर गरिएको ‘विध्वंस’ अराजकता भएको उनको टिप्पणी छ । 

उनले लोकतन्त्रको दुरुपयोग गर्न नहुने भन्दै युवामाथि एमालेको विश्वास रहेको बताए । पुस्ताबीचको अन्तरलाई लिएर समाजमा फाटो ल्याउने प्रयास भइरहेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया