कागे फुटबल : हेलिबोथ र बौद्ध भेट्रान्स सेमिफाइनलमा
इलाम- सन्दकपुर गाउँपालिका–५, जमुनास्थित गजाधर धनमाया भट्टराई रंगशालामा जारी स्वर्गीय डम्बरकुमारी गुरुङ स्मृति कप तथा दोस्रो रनिङ कप कागे फुटबल प्रतियोगितामा हेलिबोथ फुटबल क्लब र बौद्ध भेट्रान्स रानिटार पाँचथर सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कात्तिक १२ देखि सञ्चालन भइरहेको प्रतियोगिताको पाँचौँ दिन खुलातर्फको तेस्रो क्वार्टरफाइनलमा हेलिबोथले टोड्के झरना स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा टोड्केका कप्तान सुरज राईले पेनाल्टीमार्फत् अग्रता दिलाएपनि हेलिबोथका प्रज्वल तामाङ र कप्तान श्रीहाङ लिम्बूले गोल गर्दै टोलीलाई जित दिलाए ।
यस्तै, भेट्रान्सतर्फको तेस्रो क्वार्टरफाइनलमा बौद्ध भेट्रान्स पाँचथरले सालोम भेट्रान्स झापालाई सडन डेथमा पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि टाइब्रेकरमा पुगेको खेलमा ४–४ गोल भएपछि सडन डेथबाट विजेता टुंगो लागेको थियो ।
जमुना फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल कात्तिक २१ गते कागतिहारका दिन हुनेछ । खुलातर्फ विजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ८१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । भेट्रान्सतर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा स्वर्गीय डम्बरकुमारी गुरुङको परिवारले पुरस्कार राशि तथा युके एफसी युकेले रनिङ सिल्ड प्रायोजन गरेको छ ।
तपाईको प्रतिक्रिया