समाज

रोङमा पर्यटन पत्रकारिता तालिम सुरु 

मंगलबार कार्तिक १८, २०८३/ Tuesday 11-03-26

इलाम- रोङ गाउँपालिकामा पर्यटन पत्रकारितासम्बन्धी क्षमता विकास तालिम सुरु भएको छ । पर्यटन पत्रकारिताको माध्यमबाट स्थानीय पर्यटकीय गन्तव्यको पहिचान, प्रचारप्रसार तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको तालिम रोङ गाउँपालिका–३, कोल्बुङस्थित जंगल भ्यु रिसोर्टमा सुरु भएको हो । 

मंगलबार सुरु तालिम बुधबारसम्म चल्नेछ । पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो, पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा, नेपाल पत्रकार महासंघ इलाम शाखा अध्यक्ष भीम चापागाईं र रोङ गाउँपालिका वडा ३ अध्यक्ष मात्रिका बराललगायतको उपस्थिति थियो । 

उद्घाटनसत्रका वक्ताले पर्यटन क्षेत्रको विकास र प्रवर्धनमा सञ्चारमाध्यम तथा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताए । स्थानीयस्तरमा रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय सम्पदालाई सबैमा चिनाउन पत्रकारिताले महत्वपूर्ण योगदान गर्ने उनीहरूको भनाइ थियो ।

तालिमको सहजीकरण नेपाल पर्यटन पत्रकार मञ्चका कार्यकारी निर्देशक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामेश्वर कार्कीले गरिरहेका छन् । तालिममा पर्यटन पत्रकारिताको अवधारणा, समाचार लेखन, पर्यटकीय गन्तव्यको खोज तथा पहिचान, पर्यटन प्रवर्धनमा सञ्चारमाध्यमको भूमिकालगायत विषयमा छलफल भइरहेको छ । 

पर्यटन कार्यालयको सहयोगमा सञ्चालित तालिममा इलाम, ताप्लेजुङ, पाँचथर र झापाका पर्यटकीय सम्भावनालाई पत्रकारितामार्फत् उजागर गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, कृषि पर्यटन तथा मौलिक संस्कृतिले भरिपूर्ण रोङ गाउँपालिकामा पर्यटनको प्रचुर सम्भावना छ । पाथीभरा क्षेत्र, कुटीडाँडा, हाँसपोखरी, कन्याम आसपासका पर्यटकीय क्षेत्र तथा विभिन्न प्राकृतिक गन्तव्यहरूको प्रचारप्रसारमा यस तालिमले थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

पर्यटनको विकासका लागि पूर्वाधारसँगै प्रभावकारी प्रचारप्रसार पनि आवश्यक हुन्छ । त्यसैले पर्यटन पत्रकारिताको विकाससँगै स्थानीय गन्तव्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान पाउने अपेक्षा गरिएको छ ।

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारमात्र होइन, त्यसको सही पहिचान, प्रचारप्रसार र प्रभावकारी पत्रकारिता पनि उत्तिकै आवश्यक रहेको वक्ताले जनाए ।
 

तपाईको प्रतिक्रिया