खेलकुद

जस्बिरे गोल्डकपः कन्टिन्यु प्लेमा श्रीजङ्गा, तिल्केनी र माइपोखरीको जित

मंगलबार कार्तिक १८, २०८३/ Tuesday 11-03-26

इलाम- जस्बिरेमा जारी गोल्डकपमा मंगलबार ३ वटै खेल कन्टिन्यु प्लेसम्म पुगेरमात्र नतिजा निस्किएको छ । रोमाञ्चक प्रतिस्पर्धामा श्रीजङ्गा, तिल्केनी एफसी र माइपोखरी भेट्रान्स विजयी हुँदै अगाडि बढेका छन् ।

आजको पहिलो खेलमा श्रीजङ्गा र माइपोखरी आमने–सामने भए । निर्धारित समयको खेल १–१ को बराबरीमा सकियो । श्रीजङ्गाका लागि सिद्धान्त योगी र माइपोखरीका लागि जोसेफ राईले गोल गरे । टाइब्रेकरमा पनि बराबरी भएपछि कन्टिन्यु प्लेमा श्रीजङ्गा भाग्यमानी साबित भयो ।  

यो जितसँगै श्रीजङ्गाले क्वार्टरफाइनलमा लालीगुराँससँगको भेट पक्का गरेको छ ।

दोस्रो खेलमा पुवाभ्याली र तिल्केनी एफसीबीच कडा प्रतिस्पर्धा भयो । निर्धारित समय १–१ मा टुंगियो । पुवाभ्यालीका लागि किरण मगर र तिल्केनीका लागि सजन राईले गोल गरे । टाइब्रेकर पनि बराबरी भएपछि कन्टिन्यु प्लेमा तिल्केनीले बाजी मार्दै सेमी फाइनलमा स्थान सुरक्षित गरेको छ । तिल्केनीले अब सेमीमा चाँपगैरी एफसी र पाँचथर एफसीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

भेट्रान्सतर्फको खेलमा आयोजक जस्बिरे भेट्रान्सलाई माइपोखरी भेट्रान्सले पराजित गर्दै सेमी फाइनल प्रवेश गरेको छ । निर्धारित समय र टाइब्रेकरसम्म बराबरीमा सकिएपछि कन्टिन्यु प्लेमा माइपोखरी भेट्रान्स विजयी भयो ।

आजका ३ वटै खेल कन्टिन्यु प्लेसम्म पुग्दा दर्शकले भरपुर मनोरञ्जन पाएका थिए । मैदानमा उत्साह र तालीको गडगडाहटले जस्बिरेको माहोल तातिएको थियो । 
हेल्लो जस्बिरे फुटबल क्लबको आयोजनामा दीपावलीको अवसर पारेर सञ्चालित प्रतियोगिताको उद्देश्य स्थानीयस्तरबाट खेलाडी उत्पादन गर्ने र जस्बिरे क्षेत्रको पर्यटकीय प्रवर्धन गर्ने रहेको समिति उपाध्यक्ष धनजित मुखियाले बताए । 

समिति सचिव अर्बिन पाण्डेका अनुसार प्रतियोगिताको खुलातर्फका विजेताले नगद  १ लाख ११ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद ६१ हजार प्राप्त गर्नेछन् । 

भेट्रान्सतर्फका विजेताले ४१ हजार र उपविजेताले २६ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता कात्तिक २१ सम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया