जस्बिरे गोल्डकपः टोड्के र डाइनामिक सेमीमा, चाँपगैरी क्वार्टरफाइनल प्रवेश
इलाम- जस्बिरेमा जारी हेल्लो जस्बिरे गोल्डकपअन्तर्गत बुधबार भएका खेलमा टोड्के झरना एफसी, चाँपगैरी एफसी र डाइनामिक भेट्रान्स सुम्बेक विजयी हुँदै अर्को चरणमा प्रवेश गरेका छन् ।
आजको पहिलो खेलमा टोड्के झरना एफसीले हेलिबोध एफसी बिब्ल्याँटेलाई १–० ले पराजित गरेको छ । टोड्केका लागि उशल राईको गोल नै निर्णायक बन्यो । यो जितसँगै ए–पोलबाट सेमीमा पुग्ने पहिलो टिम टोड्के नै बनेको छ । बी–पोलबाट तिल्केनी एफसी मंगलबार सेमीमा पुगिसकेको छ । अब टोड्के झरनाले सेमी फाइनलमा बिहीबार हुने श्रीजङ्घा एफसी र लालीगुराँस एफसी गडी इलामबीचको विजेतासँग खेल्नेछ ।
दोस्रो खेलमा चाँपगैरी एफसीले भञ्ज्याङ युथ क्लबलाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । चाँपगैरीका लागि सुशान्त कार्कीले दुई गोल गरे भने भञ्ज्याङका लागि एक मात्र गोल सलिन अधिकारीले फर्काए । चाँपगैरीले अब भोलि क्वार्टरफाइनलमा पाँचथर एफसीको सामना गर्नेछ । यो खेलको विजेता सेमी फाइनलमा तिल्केनी एफसीसँग भिड्नेछ ।
भेट्रान्सतर्फ डाइनामिक भेट्रान्स सुम्बेकले बिब्ल्याँटे भेट्रान्सलाई ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । डाइनामिकका लागि गोपाल राई, चक्र राई र भैरव तामाङले एक–एक गोल गरे भने बिब्ल्याँटेका लागि सान्त्वना गोल तेजेन गुरुङले गरे ।
आयोजकका अनुसार भोलि ३ खेल हुनेछन् । पहिलो खेलमा लालीगुराँस एफसी र श्रीजङ्घा एफसी, दोस्रो खेलमा चाँपगैरी एफसी र पाँचथर एफसी क्वार्टरफाइनलमा भिड्नेछन् । भेट्रान्सको पहिलो सेमी फाइनलमा माइपोखरी र हिमालयन सांग्रिलाबीच प्रतिस्पर्धा हुनेछ ।
यसैबीच, समिति सचिव अर्बिन पाण्डेका अनुसार प्रतियोगिताको खुलातर्फको विजेताले नगद १ लाख ११ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ उपविजेताले नगद ६१ हजार रुपैयाँ प्राप्त गर्नेछ । भेट्रान्सतर्फको विजेताले ४१ हजार र उपविजेताले २६ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिता कात्तिक २१ सम्म सञ्चालन हुनेछ ।
तपाईको प्रतिक्रिया