खेलकुद

कागे फुटबल : खुलातर्फको सेमी फाइनल समीकरण पूरा

बुधबार कार्तिक १९, २०८३/ Wednesday 11-04-26

इलाम- सन्दकपुर गाउँपालिका-५, जमुनास्थित गजाधर धनमाया भट्टराई रंगशालामा जारी स्वर्गीय डम्बरकुमारी गुरुङ स्मृति कप तथा दोस्रो रनिङ कप कागे फुटबल प्रतियोगिताको खुला पुरुषतर्फ शनिश्चरे फुटबल क्लब सेमी फाइन प्रवेश गरेको छ ।

आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा पहिलो संस्करणको विजेता शनिश्चरे फुटबल क्लबले यलम्बर स्पोर्टिङ क्लब भित्तेलाई ४-३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलको पहिलो हाफमा शनिश्चरेका कप्तान सौरभ सुब्बाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, उक्त अग्रता लामो समय टिक्न सकेन । लगत्तै भित्तेका सुरेश मगरले गोल फर्काउँदै खेल बराबरी बनाए । त्यसपछि शनिश्चरेका समीर हेमरन्ज र निमा तामाङले थप गोल गरेपछि पहिलो हाफमा शनिश्चरेले ३-१ को अग्रता बनायो ।

दोस्रो हाफमा शनिश्चरेका निमा तामाङले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता बढाए । भित्तेका किरण मगर र सफल तामाङले थप गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

शनिश्चरेको जितसँगै प्रतियोगिताको खुला पुरुषतर्फ सेमी फाइनल समीकरण पूरा भएको छ । सेमी फाइनलमा इङ्ला वरियर्स र हेलिबोथ फुटबल क्लब तथा छिन्टापु स्पोर्टिङ क्लब र शनिश्चरे फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यसैबीच, प्रतियोगिताअन्तर्गत भेट्रान्सतर्फको अन्तिम क्वार्टरफाइनल खेल भोलि इलाम युके एफसी भेट्रान्स र आरआरसी प्याङ भेट्रान्सबीच हुनेछ । खुला पुरुषतर्फको पहिलो सेमीफाइनलमा इङ्ला वरियर्स र हेलिबोथ फुटबल क्लब आमनेसामने हुँदा भेट्रान्सतर्फको पहिलो सेमी फाइनलमा फेमेगुरु भेट्रान्स र बौद्ध भेट्रान्स रानीटार पाँचथर भिड्नेछन् ।

जमुना फुटबल क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा स्वर्गीय डम्बरकुमारी गुरुङको स्मृतिमा उनको परिवारले विजेता तथा उपविजेता टोलीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ । यस्तै, युके एफसी युकेले रनिङ सिल्ड प्रायोजन गरेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया