इलाम– पछिल्लो समय इलामका बजारमा नौनी घिउको मूल्य बढेको छ। मूल्य वृद्धिसँगै बजारमा घिउको अभावसमेत हुन थालेको छ। एक महिनाअघिसम्म प्रतिकिलो ८०० देखि ८५० रुपैयाँसम्ममा पाइने घिउको मूल्य अहिले बढेर ९०० देखि ९५० रुपैयाँ पुगेको छ।
बजारमा घिउको माग उच्च भए पनि गाउँबाट सङ्कलन हुने घिउ सोझै बाहिरी बजारमा जाने गरेकाले स्थानीय बजारमा अभाव देखिएको हो। चाडपर्वको समय भएकाले पनि घिउको माग बढेको इलामको बरबोटेस्थित नवरत्न डेरीका व्यवस्थापक कुवेर फागोले बताए।
‘हरेक दिन बिहान घिउ सकिएको हुन्छ। घिउको माग स्थानीय उपभोक्तादेखि बाहिरी बजारसम्म धेरै छ,’ फागोले भने।
इलाममा उत्पादित घिउ अधिकांश बाहिरी बजारमा जाने गरेको उत्पादकहरू बताउँछन्। इलामबाट उत्पादित घिउ झापाको बिर्तामोड, विराटनगर, काठमाडौं र पोखरासम्म पुग्ने गरेको छ। जिल्लामा एक सयभन्दा बढी डेरी उद्योग सञ्चालनमा रहे पनि स्थानीय बजारमा घिउको अभाव भने कायमै छ।
तपाईको प्रतिक्रिया