यस्तो पनि !

बाख्राले फूल चोरेपछि....

आइतबार असोज २८, २०८०/ Sunday 10-15-23

छिमेकी मुलुक भारतको उत्तर प्रदेशस्थित कानपुरमा अनौठो घटना भएको छ । त्यहाँका एकजना किसान बाख्राको विरुद्धमा फूल चोरीको उजुरी गर्नका लागि प्रहरी चौकीमा पुगेपछि प्रहरीहरु नै तिनछक परे ।

केही बाख्राहरु आफ्नो खेतमा पसेर सयपत्री फूल खाइदिएको ती किसानले बताएका छन् ।

उनले फूल खाँदै गरेको अवस्थामा दुईवटा बाख्रालाई रंगेहात पक्रिएका थिए । र, तिनै बाख्राहरुलाई अटो रिक्सामा राखेर उनी प्रहरी चौकी पुगे ।

फूल चोरीको आरोपमा अभियुक्त बाख्रासहित किसान उजुरी गर्न आएपछि प्रहरी पनि असमञ्जसमा परेको छ । आखिर ती बाख्राविरुद्ध कुन अभियोगमा कारबाही गर्ने ?

यो घटना भीतरगाउँ इलाकाको गौरी काकरा गाउँमा भएको हो । त्यस क्षेत्रमा फूलको खेती हुने गर्दछ । स्थानीय किसान शैलेन्द्र निषादले पनि फूल खेती गर्दै आएका छन् ।

यो वर्ष उनले सयपत्री फूल लगाएका थिए आफ्नो खेतमा । तर, पछिल्ला दिनहरुमा शैलेन्द्र चिन्तित थिए । किनकि उनको खेतमा फूलेका फूलहरु बेलुकीको समयमा कसैले सुटुक्क टिपेर लैजाने गरेको रहेछ ।

उनले गाउँलेहरुलाई आफ्नो फूल कसैले टिपेको पो हो कि भनेर सोधनी पनि गरे । तर, केही पत्ता लागेन । अन्ततः उनले आफ्नो खेतका फूलहरु चोर्ने फूलचोर पत्ता लगाउने निधो गरे ।

गत सोमबार शैलेन्द्र फूल बेच्न सहर गएनन् । उनी सुटुक्क लाठी लिएर फूल रोपेको खेतमा गएर निगरानी गर्दै लुकेर बसे । त्यस क्रममा उनले साँझपख चार पाँचवटा बाख्राको बथान आएर फूल खान थालेको फेला पारे ।

आफूले दुःख गरेर हुर्काएका फूलहरु बाख्राले कपाकप खाइदिन थालेपछि शैलेन्द्रको रिसको पारो तात्यो । उनी दौडिएर ती बाख्रा समाउन गए । तर बाख्राहरु भागे ।

अन्तिममा उनले दुईवटा बाख्रालाई चाहिं समाइछाडे । उनी तिनै दुईवटा बाख्रालाई लिएर सडकमा आए अनि अटोरिक्सामा राखेर सीधै प्रहरी चौकीमा गए ।

चौकीमा बाख्रालाई लिएर तिनै बाख्राविरुद्ध उजुरी गर्न आएका शैलेन्द्रलाई देख्दा प्रहरीलाई पनि अनौठो लाग्यो । शैलेन्द्रको गुनासो सुनेपछि प्रहरीले ती बाख्राको मालिकको खोजीनीति गर्‍यो । ती बाख्राहरु गाउँकी एक महिलाका रहेछन् ।

अन्ततः ती महिलालाई पनि चौकीमा बोलाएर केरकार गरियो । त्यसक्रममा ती बाख्रालाई बाँधेको दाम्लो कोही मानिसले फुकाइदिएका कारण बाख्राहरु खेतमा पसेको खुल्न आयो । - एजेन्सी

तपाईको प्रतिक्रिया